24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

काठमाडौँमा बाढी आएको होइन खोला-नालाले आफ्नो क्षेत्र फिर्ता मागेको हो : विज्ञ

काठमाडौं । सोमबार बिहानको भारी वर्षापछि काठमाडौं उपत्यकाका सबैजसो खोला नदीमा ठूलो बाढी आयो । वाग्मती, विष्णुमती र मनोहराको भेल धेरै ठाउँमा करिडोर सडक नाघेर वस्तीभित्र पसे । वर्षायाममा नदी किनारका बस्ती डुबेको दृश्य काठमाडौंका लागि नौलो हैन । हरेक वर्षायाममा ठूलो पानी परेपछि काठमाडौंका विभिन्न भाग जलमग्न हुन थालेको वर्षौं भयो ।

राजधानीभित्र बगिरहेका नदीहरुमा हिउँदभर ढल जमेर बस्छन् अनि वर्षामा आफ्नो बहाब क्षेत्र खोज्दै बस्तीभित्र पस्छन् । उपत्यका विकास प्राधिकरणका पूर्वआयुक्त भाइकाजी तिवारी ‘नदी वस्तीभित्र नभई बस्ती नदीभित्र पसेको’ले उपत्यकाबासीलाई यो समस्याबाट मुक्ति पाउन कठीन हुने बताउनुहुन्छ। ‘विगतमा नदीको बहाब क्षेत्रछोड्नुपर्ने कुरालाई बेवास्ता गरेका कारण नै अहिले यस्तो अवस्था आएको हो,’ उहाँ भन्नुहुन्छ,’खोलानाला हरेक वर्षादमा आफ्नो भूमिमा फर्किन्छन् नै ।’ तिवारीको भनाइमा, पञ्चायतकालीन एउटा निर्णयलाई बहुदलपछिका सरकारहरुले बडाइपूर्वक लागू गरेको भए काठमाडौंले यो समस्याबाट धेरैहदसम्म मुक्ति पाइसक्थ्यो ।

२०४५ सालमा ‘शहरी विकास तथा भवन निर्माण विभाग’ बनाउँदै गर्दा तत्कालीन आवास तथा भौतिक योजनामन्त्री डा. प्रकाशचन्द्र लोहनीले ‘भविष्यमा बाढीबाट सुरक्षित काठमाडौं सहरको’ परिकल्पना गर्नुभएको थियो। काठमाडौं उपत्यकाका नदी खोलाकिनार अतिक्रमणको चपेटमा पर्न थालेपछि दायाँ बायाँ ५०-५० मिटर’डोल क्षेत्र’ कायम गर्ने निर्णय गरेको उहाँको भनाइ छ । उहाँका अनुसार सो नियमअनुसार नदीको बहाव क्षेत्रबाहेक दायाँबायाँ १०० मिटर खुला किनार हुन्थ्यो ।

त्यतिबेला नदी खोलाका खाली किनारमा रुखरोप्ने योजना बनाइएको थियो । ‘नदीलाई उसको किनारा पनि चाहिन्छ, बग्ने बहाव क्षेत्र पनि पर्याप्त चाहिन्छ,’ लोहनी भन्नुहुनछ,’वर्षामा बढी नआओस् भनेर मात्रै हैन, शहरका नदी किनारमा प्रशस्त रुख रोपेर हरियाली बढाउन सकियोस् भनेर पनि त्यो निर्णय लिएका थियौं ।’ तर, जनआन्दोलनको बलमा बहुदलीय व्यावस्था पुनर्स्थापनापछि २०४७ सालमा बनेको प्रजातान्त्रिक सरकारले ‘प्रतिगामी निर्णय’हरु उल्ट्याउँदा सो निर्णय पनि उल्टियो ।

‘खोला नदीहरुलाई प्राकृतिक बहावमा छोडेको भए आज काठमाडौंमा डुबान हुने थिएन’, बहुदल कालमा पनि मन्त्रि बनुभएका लोहनि भन्नुहुन्छ, ‘किनारहरूमा ठूलो क्षेत्रमा हरियाली पनि हुन्थ्यो । यो सहर नै अर्कौ हुन्थ्यो ।’काठमाडौंका खोला नदीहरुले मान्छेले दिएको ‘च्यालेन्ज’को प्रतिउत्तर दिइरहेको पूर्वमन्त्री डा. लोहनीको भनाइ छ। नदी सभ्यतालाई नष्ट गर्न खोज्दा सहरले जीवन्तता पनि गुमाएको र थप समस्याहरु खेप्नुपरेको उहाँले बताउनुभयो ।

प्राधिकरणका पूर्वआयुक्त तिवारी काठमाडौंमा अलिकति बढी वर्षाद् हुनासाथ बाढीले डुबाउने समस्याको विजारोपण पञ्चायतकालीन निर्णय खारेजीकै बेला भएको बताउनुहुन्छ । सबै खोला नदीमा ५०-५० मिटर ‘सेट ब्याक’ छोड्नुपर्ने निर्णय उल्टिएपछि भूमाफियाको स्वार्थअनुसार विभिन्न खोला नदीमा फरक फरक ‘सेटब्याक’हरु तय भए ।

अहिले वाग्मती, विष्णुमती र मनोहरामा २०-२० मिटर ‘सेटब्याक’ छाड्नुपर्ने नापी विभागको मापदण्ड छ । त्यस्तै, धोबीखोलामा ९-९ मिटर, नख्खु खोलामा १२-१२ मिटर, साङ्ला खोलामा १२-१२ मिटर, महादेवखोलामा १०-१० मिटर, बल्खुखोलामा १०-१० मिटर र अन्य साना खोलारखोल्सामा ४-४ मिटरसेटब्याक तोकिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स