24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

विद्यालय बन्दको जिम्मा पालिकालाई

काठमाडौँ — शिक्षा मन्त्रालयले कोरोना संक्रमणको प्रकोप बढ्दै गएमा विद्यालय बन्द गर्ने वा खुला राख्ने निर्णय सम्बन्धित स्थानीय तहलाई नै अधिकार दिएको छ । मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरेर जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को समन्वयमा सम्बन्धित पालिकाले विद्यालय बन्द वा खुला गर्न सक्ने जनाएको हो ।
स्वास्थ्य मन्त्रालयले अति जोखिम १४ जिल्लाका बालबालिकालाई विद्यालय नपठाउन आग्रह गरेको छ । जोखिममा रहेका जिल्लाका स्थानीय तहले पूर्णरूपमा विद्यालय बन्द गर्न नमाने पछि मन्त्रालयले यसकिसिमको व्यवस्था गरेको जनाएको छ । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले विद्यालय पुनःसञ्चालन कार्यढाँचा २०७७ अनुसार पालिकाले जोखिमको प्रकृतिअनुसार विद्यालय बन्दको निर्णय गर्ने सक्ने बताए । काठमाडौं महानगरपालिकाले भने स्वास्थ्य मन्त्रालयको सुझावपछि शिक्षक र विद्यार्थीमा कोरोना पुष्टि भएका विद्यालयले कम्तीमा एक साता पठनपाठन बन्द गर्नुपर्ने निर्णय गरेको छ ।
शिक्षा मन्त्रालयका प्रवक्ता शर्माले विद्यालय बन्द रहे पनि बालबालिकाको सिकाइ क्रियाकलापलाई निरन्तरता दिनुपर्ने बताउँदै त्यसका लागि विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकाअनुसार अनलाइन, रेडियो, टेलिभिजनलगायत वैकल्पिक माध्यमबाट पठनपाठन गर्न आग्रह गरिएको बताए ।
यसैवीच मन्त्रालयले शिक्षण संस्थाभित्र सभा, समारोह, वार्षिकोत्सव जस्ता भीडभाड हुने कुनै पनि कार्यक्रम नगर्न र विद्यालय सञ्चालन गर्दा मन्त्रालयबाट जारी कार्यढाँचा पालना गर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स