24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

सातवटै प्रदेशमा सरकारी मेडिकल कलेज बनाउने स्वास्थ्य मन्त्रालयको तयारि

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विसं २०८० सम्म प्रत्येक प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज स्थापना गर्ने भएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सातवटै प्रदेशमा कलेज निर्माण गर्ने क्रममा नै प्रदेश नं २ मा मधेश स्वास्थ्य प्रतिष्ठान र रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको भौतिक पूर्वाधार सुचारु भएको बताउनुभयो ।

उहाँका अनुसार नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान र काठमाडौँ विश्वविद्यालय मेडिकल स्कुललाई सार्वजनिक मेडिकल कलेजको रुपमा तोकी चिकित्सा शिक्षा ऐन–२०७५ को प्रावधान अनुसार छात्रवृत्ति कायम गर्ने प्रक्रियासमेत शुरु भइसकेको छ ।

मन्त्रालयले यस अगाडि विभिन्न मितिमा सरकारले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारको लागि गरेका सम्झौता कार्यान्वयनका लागि समेत प्रतिबद्ध भएको जनाएको छ । सहप्रवक्ता डा. अधिकारीले शिक्षा ऐन–२०७५ को प्रावधान अनुसार विसं २०८५ देखि नेपालको मेडिकल शिक्षा गैर–नाफामूलक हुने भएकोले त्यो नीति कार्यान्वयनको लागि मन्त्रालय प्रतिबद्ध भएको जानकारि दिनुभयो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस भर्ना प्रक्रिया शुरु भइसकेको र गेटा मेडिकल कलेज र राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस अध्ययनको लागि पूर्वाधार अन्तिम चरणमा पुगिसकेको जनाएको छ ।

उहाँले कुनै पनि विश्वविद्यालय र प्रतिष्ठानमा पदाधिकारी नियुक्त गर्दा २०७३ मा तयार भएको मापदण्ड समय सापेक्ष परिमार्जन गर्नका लागि हाल छलफलको क्रममा रहेकोले उक्त परिमार्जित मापदण्डअनुसार पदाधिकारी नियुक्त प्रक्रिया थालिने समेत जानकारी गराउनुभयो ।

यस्तै छानबिन समितिले बुझाएको प्रतिवेदनका आधारमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका दोषी ठहर भएका कुनै पनि पदाधिकारीलाई संरक्षण गर्ने नीति मन्त्रालयको नभएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स