24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

हुम्लामा दुई दिनदेखि हवाई सेवा अवरुद्ध

हुम्ला। हिमाली जिल्ला हुम्लाको एक मात्र यातायातको साधन हवाई सेवा दुई दिनदेखि अवरुद्ध भएको छ । मङ्गलबार बिहानदैखि कुहिरो लाग्ने र पानी परेका कारण हवाई सेवा अवरुद्ध भएको हो ।

नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका निमित्त प्रबन्धक नबराज कटुवालले दुई दिनदेखि हवाई सेवा अवरुद्ध भएको बताउनुभयो । उहाँले एकातिर खराब मौसम र अर्कोतिर बिहानैबाट कुहिरो लाग्ने, पानी पर्ने भइरहेका कारण नेपालगञ्ज र सुर्खेतमा जहाजहरू सिमकोटका लागि उडान भर्न नसकेको जानकारी दिनुभयो ।सोमबारदेखि नेपालगञ्ज झर्ने तयारी गरिरहनु भएकी यात्रु सीता कार्कीले उडान नभएपछि सिमकोटमै रोकिनुपरेको बताउनुभयो । यात्रुहरू बिहानैबाट विमानस्थमा जाने तर उडान नभएपछि दिउँसो २ बजे फिर्ता हुने गरेका छन् ।

हवाई सेवा अवरुद्ध भएपछि जिल्लामा भित्रिने ९० जना र जिल्ला बाहिर जाने ७८ जना यात्रु रोकिनु परेको छ । त्यससँगै खाद्यान्न, विकास निर्माण सामग्री र कार्गोको सामान पनि ढुवानी हुन सकेको छैन । यसले विकासे काममा समेत बाधा पुर्याएको छ ।

हवाई सेवा सुचारु नहुँदा तरकारी तथा मासुको पनि समस्या देखिएको छ । त्यसैगरी हवाई सेवा सुचारु नभएपछि राष्ट्रिय वाणिज्य बैङ्कका लागि नेपालगञ्जबाट ल्याउनुपर्ने पैसा पनि आउन सकेको छैन । यसले बैङ्कलाई काम गर्न समस्या भएको छ । सिमकोटमा तारा, सीता र समिट एयरका जहाजहरूले दैनिक १५ भन्दा बढी उडान भर्दै आएका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स