29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

महोत्तरीमा लगातारको वर्षाका कारण तरकारी खेती सखाप, तरकारीको मूल्य आकासियो

महोत्तरी । लगातारको वर्षाले तरकारी बाली गालेपछि महोत्तरीका किसान पिरोलिएका छन् । भर्खरै लगाइएका भदौरे तरकारीका बेर्ना, सागसब्जीका बिरुवा र लहरे तरकारी बाली लगातारको वर्षाले गालेर नोक्सान गरेपछि तरकारी खेती गर्ने किसानको पिरलो बढेको हो । बारीमा भाण्टा, खोर्सानी र अरु तरकारीका बोट वर्षाको पानीले सोत्तर बनाएको छ ।

त्यसैगरी रायो, लट्टे र अन्य सागका बिरुवा लतारिएका छन् । घिरौंला, लौका, चिचिण्डा, काँक्रा, परवल र करेलासहितका तरकारीका लहरा पनि लगातारको पानीले गलाएर पहेंलिएका छन् । असार लागेदेखि परेको पानी र पछिल्ला चार दिन यताको निरन्तरको वर्षाले यसपाली बर्खे र भदौरे दुबै तरकारी खेतीबाट हात धुने अवस्था बनेको किसानको दुखेसो छ । महोत्तरीका सबैजसो भेगमा गत मङ्गलबारदेखि लगातार पानी पर्दै आएको छ ।

सधैंजसो भदौपछि लगालगी पर्ने चाडपर्वलाई लक्षित गरी लगाइने तरकारी खेती यसपालि लगातारको वर्षाले गलाएपछि तरकारीको हाहाकार नै हुने र मूल्य आकासिएर सर्वसाधारण उपभोक्ताले किनेर खाने स्थिति नरहने किसानको भनाइ छ । लगातारको वर्षाले तरकारी बाली खेतबारीमै गलाएपछि किसान पिरोलिनेसँगै बजारमा तरकारीको मूल्य आकासिएको छ । किसानका खेतबारीमा तरकारी नभएपछि बजारु उपभोक्ता पनि महङ्गाइको मारमा परेका छन् । लगातारको वर्षाले हातमुख जोर्ने काम अत्यन्त महङ्गो भएको सर्वसाधारण उपभोक्ता बताउँछन् । महोत्तरीका १५ स्थानीयतहका कार्यालयहरुको आँकडाअनुसार जिल्लामा १० हजार हेक्टर क्षेत्रफलमा तरकारी खेती लगाइँदै आइएको देखिन्छ ।

लगातारको वर्षाले जिल्लाका ग्रामीण सडकमात्र नभएर मुख्य सडक नै हिलाम्य भएका छन् । बर्दिवास–रामगोपालपुर–जलेश्वर, सम्सी–लोहारपट्टी–जनकपुर,जलेश्वर–रौजा–बर्दिवास र अन्य धेरै सडकमा हिलो जमेर साना सवारी साधन पनि चल्न सकेका छैनन् । तरकारी बाली र सडक यातायातमा असजिलो बढेपनि असार मध्यसँगैको वर्षाले खेतका ग¥हा टन्न भरिदा पानी थामिएपछि धान रोप्न पाइने किसानको आश छ । तर यसअघि रोपिएको रोपो पानीले गलाउने र अबको रोपाइँका लागि बीउ अपुग हुनसक्ने चिन्ताले किसान पिरोलिएका छन् ।

जिल्लामा करिब ५० हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिने भनिएपनि मौसमको प्रतिकूलताले यसपालि अहिलेसम्म एक चौथाई रोपाइँ पनि हुन सकेको छैन । हिउँदे धान भने साउन तेस्रो सातासम्म रोप्न सकिने हुँदा आत्तिहाल्नु पर्ने गरी समय नसिद्धिएको कृषि ज्ञान केन्द्र कार्यालय महोत्तरी जलेश्वरका विज्ञले बताएका छन्

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स