26.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

शिक्षक र विद्यार्थीमा कोरोना देखिएपछि मुस्ताङका दुई विद्यालय बन्द

मुस्ताङ । हिमालपारिको जिल्ला मुस्ताङको थासाङ गाउँपालिकाका दुई वटा विद्यालयका विद्यार्थी तथा शिक्षकमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि पठनपाठन बन्द भएको छ । गाउँपालिका—३, लेतेको ज्ञानोदय माध्यमिक बिद्यालय र टुकुचेको योगेन्द्र माध्यमिक विद्यालय बन्द भएको हो ।

ज्ञानोदय माध्यमिक विद्यालयमा कार्यरत दुई जना शिक्षक तथा दुई जना विद्यार्थी एवम् शिक्षक तथा लेते गाउँमा तीन जनामा कोभिड पोजिटिभ भएपछि विद्यालय व्यवस्थापन समितिले मङ्सिर १२ गते आइतबारबाट कक्षा सञ्चालन गर्ने निर्णय गरेको विद्यालयका प्रधानाध्यापक अनन्तराज आचार्यले बताउनुभयो । आचार्यले भन्नुभयो, ‘विद्यालय अनि समुदायमा पनि कोभिड देखिएको कारणले गर्दा जोखिम मल्ने अवस्था नरहेकोले विद्यालयको पठनपाठन बन्द गरिएको हो ।’

हिमालपारिको जिल्ला मुस्ताङको थासाङ गाउँपालिका–३ को उक्त विद्यालयमा १९६ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा लक्षण देखिएका शिक्षक विद्यार्थी गरी २४ जनाको परीक्षण गर्दा चार जनामा पोजिटिभ देखिएको विद्यालयले जनाएको छ ।

मुस्ताङमा जारी निषेधाज्ञा गएको १६ श्राद्धदेखि विस्तारै खुकुलो पार्दै लगिएको थियो । जिल्ला प्रवेशका लागि पर्यटक आवागमनलाई सहज पार्न जिल्ला प्रशासन कार्यालय मुस्ताङले पर्यटकलाई पिसिआर रिपार्ट, एन्टिजेन रिपोर्ट र खोप कार्डको आधारमा जिल्ला प्रवेशको अनुमति दिने गरेको छ । दशैँ, तिहार र छठ पर्वको अवसरमा मुस्ताङमा आन्तरिक पर्यटक तथा विदेशी पर्यटकको बढेपछि कोरोना सङ्क्रमण बढेको हुनसक्ने स्थानीयको अनुमान छ ।

अहिले पछिल्लो समय मुस्ताङको थासाङ गाउँपालिकामा मात्रै नौ जना सक्रिय सङ्क्रमित रहेको र अन्य चार वटा गाउँपालिकामा सक्रिय सङ्क्रमित नरहेको स्वास्थ्य कार्यालय मुस्ताङका निमित्त प्रमुख टीकाराम भण्डारीले बताउनुभयो । भण्डारीका अनुसार अहिले थासाङ गाउँपालिकाको लेतेमा सात जना र टुकुचेमा दुई जना सक्रिय सङ्क्रमित छन् ।

त्यस्तै, थासाङ गाउँपालिका–टुकुचेको योगेन्द्र माध्यमिक विद्यालयको विद्यार्थीमा पनि कोभिड–१९ सङ्क्रमण भएपछि मंसिर ४ देखि १४ सम्मका लागि पठनपाठन रोकिएको थासाङ गाउँपालिकाका सूचना अधिकारी लालप्रसाद पौडेलले बताउनुभयो । विद्यालय व्यवस्थापन समितिको बैठक बसेर विद्यालयको पठनपाठन रोक्ने जानकारी विद्यालयले गाउँपालिकालाई दिएको पौडेलको भनाइ छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स