24.1 C
Kathmandu
Friday, July 26, 2024
spot_img

सिम्बोल नम्बर नहुँदा कालीकोटका विद्यार्थी एसईईको परीक्षाफल हेर्नबाट बञ्चित

कालीकोट । राष्ट्रिय परीक्षा बोर्डले २०७७ को एसईई परीक्षाको नतिजा प्रकाशित गरेको छ तर कालीकोट जिल्लाबाट इसईई दिएका विद्यार्थीले भने आफ्नो नतिजा थाहा पाउन सकेका छैनन । विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनलाई आधार बनाएर बोर्डले शनिबार नतिजा सार्वजनिक गरीसकेको छ । यहाँका विद्यार्थीले भने सिम्बोल नम्बर नभएका कारण परीक्षाको प्रतिफल थाहा पाउन सकेका छैनन ।

एसईईको नतिजा वेबसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिने भए पनि सिम्बोल नम्बर थाहा नहुँदा आफूले प्रतिफल थाहा पाउन नसकेको कालीकोटको खाँडाचक्र नगरपालिका–१ पञ्चदेवल माध्यमिक विद्यालय मान्मबाट एसईई परीक्षा दिएका विकास शाहीले बताउनुभयो । आन्तरिक मूल्याङ्कनबाट परीक्षाको प्रतिफल आएको तर आफ्नो सिम्बोल नम्बर कति हो भन्ने थाहा नहुँदा परीक्षा प्रतिफल हेर्न नपाएको उहाँको गुनासो छ ।

सिम्बोल नम्बर नभएका कारण आफूले परीक्षाको प्रतिफल हेर्न नपाएको रास्कोट नगरपालिका–५ स्युनामा रहेको बडिमालिका माध्यमिक विद्यालयबाट एसईई परीक्षामा सामेल विद्यार्थी रजबहादुर फर्सालले बताउनुभयो ।

‘परीक्षा के भएको हेर्न पाएका छैनौं । हाम्रो सिम्बोल नम्बर कति हो त्यो पनि थाहा छैन’, उहाँले भन्नुभयो । ‘परीक्षाको प्रतिफल हेर्न नपाउँदा उकुसमुकुस भएको छ ।’ विद्यालयले आन्तरिक मूल्याङ्कनका आधारमा एसईई दिने विद्यार्थीको नतिजा परीक्षा बोर्डमा पठाइएको र सबै विद्यार्थीको सिम्बोल नम्बर आफूहरुलाई जानकारी नहुने र विद्यालयमा गएमात्र थाहा हुने पञ्चदेवल माध्यमिक विद्यालयका सहायक प्रधानाध्यपक चन्द्रप्रसाद कोइरालाको भनाई छ ।

‘विद्यालय कोभिड–१९ का कारणले बन्द भएकाले हामीले आन्तरिक मूल्याङ्कन गरेर विद्यार्थीको परीक्षा फल र सिम्बोल नम्बर दिएका हौँ’, उहाँले भन्नुभयो, ‘त्यसबेला विद्यार्थीले चासो पनि देखाउनु भएन । हामीले सबैलाई सिम्बोल नम्बर थाहा दिन पनि भ्याएनौँ ।’ एसईई परीक्षाको प्रतिफलको जानकारी आजै जिल्लामा आइपुग्ने र त्यसपछि विद्यार्थी को कति पास भए भन्ने जानकारी हुने जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख महेश देवकोटाले जानकारी दिनुभयो । उहाँले विद्यार्थीको परीक्षाफल आजै आउने बताउनुभयो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स