29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

दुई करोड रुपियाँ लगानी गरी गाउँमै बाख्रापालन

काभ्रे । आफ्नै गाउँघरमा कृषि क्षेत्रमा केही काम गर्नुपर्छ भन्ने उद्देश्यले काभ्रेको चौरीदेउराली गाउँपालिकाका तीन युवाले झण्डै दुई करोड रुपियाँ खर्च गरेर गाउँमा बाख्रपालन व्यवसाय सुरु गरेका छन् । जिल्लाको चौरीदेउराली गाउँपालिका– ८ खहरेका नकुल चौलागाई, सहदेव चौलागाई र शिव चौलागाईले खहरेखोला एग्रो कृषि फार्म दर्ता गरेर गाउँमा नै व्यावसायिक बाख्रापालन सुरु गर्नुभएको हो ।

शेयर कारोबार तथा पर्यटन व्यवसायमा संलग्न रहनुभएका नकुल, होटल व्यवसाय गरिरहनु भएका सहदेव र ट्याक्सीचालकको काम गर्ने शिव चौलागाईले पौने दुई करोड रुपियाँ खर्च गरेर बाख्रापालन व्यवसाय सुरु गर्नुभएको हो ।

‘सन् २००६ मा एक जना विदेशीसँग घुम्न बेल्जियम जाने मौका पाएँ, त्यहाँ उहाँले मलाई एक जना साथीको कृषि फर्ममा लिएर जानुभयो, सो फर्मले मेरो मन नै लोभ्याएको थियो, एक दिन म पनि आफ्नै गाउँमा आकर्षक फर्म गर्छु भन्ने सोच थियो त्यो अहिले पूरा भयो’ बाख्रा फार्म सञ्चालक नकुल चौलागाईले भन्नुभयो । उहाँले कोरोनाका कारण शहर बस्ने अवस्था नआएपछि भाइ सहदेव र काका शिवसँग सल्लाह गरेर फार्म सञ्चालन गर्ने सोचमा पुगेको बताउनुभयो ।

‘४६ घर रहेको गाउँमा अहिले केही घर मात्रै हुनुहुन्छ, अरु सबै जना शहर पलायन हुनुभयो, बस्ती पुरै खाली हुने अवस्था आएपछि युवाहरुले गाउँमा नै विभिन्न कृषि कर्महरु गर्नुपर्छ र यही रोजगारी सिर्जना गर्नुपर्छ भन्ने सोचले कृषि फार्म सञ्चालन गरेका हौँ’ खहरेखोला एग्रो कृषि फार्मका अर्का सञ्चालक सहदेव चौलागाईले बताउनुभयो ।

‘शहरमा चार आना जग्गामा करोडौँ रुपियाँ खर्च गरेर घर बनाउनुभन्दा त्यो रकमले गाउँमा नै केही काम गरौँ भनेर हामीले झण्डै दुई करोड रुपियाँ खर्च गरेर फार्म सञ्चालन गरेका हौँ’ सहदेवले थप्नुभयो । उहाँले गाउँमा नै कृषिक्षेत्रमा काम गरेर गाउँलाई हराभरा बनाउने बताउनुभयो ।

फार्मका अर्का सञ्चालक शिव चौलागाईले करिब पन्ध्र वर्ष ट्याक्सीचालकको काम गरेको बताउँदै कृषिमा नै केही राम्रो काम गर्नुपर्छ भनेर भतिजसँग फार्म सञ्चालन गरेको बताउनुभयो । एक करोड ५३ लाख रुपियाँको लागतमा काठैकाठको बाख्रा राख्ने फर्म निर्माण गरेको र करिब २५ लाख रुपियाँको बाख्रा खरिद गरिएको फार्म सञ्चालक नकुलले बताउनुभयो । हाल फार्म सञ्चालनका लागि १२५ रोपनी जग्गा भए पनि आगामी दिनमा करिब १५० रोपनी जमिन भाडामा लिने प्रक्रिया अघि बढाइएको बताउनुभयो ।

फार्ममा अहिले भारतीय मुन्ना जातको एउटा बोका, बाख्रा, जमुनापारी क्रसबाख्रा, बोयर जातको बोका र लोकल बाख्रा गरी १३० वटा बाख्रा छन् । बाख्राका लागि आवश्यक पर्ने आहारका लागि तत्कालका लागि करिब ३५ रोपनी बारीमा कुटमिरो, इपिल, किम्बु, बकाइनोलगायतका घाँस लगाइएको छ । आगामी दिनमा बाख्रा फार्मका साथै माछापालन, बेमौसमी तरकारी, लोकल कुखुरा, टर्की पालनका साथै होमस्टे सञ्चालन गर्ने योजना रहेको फार्म सञ्चालक सहदेव चौलागाईले बताउनुभयो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स