24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

विपन्नका लागि शय्या नछुट्याउने अस्पताललाई कारबाहीको माग

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले विपन्न नागरिकलाई छुट्याउनुपर्ने १० प्रतिशत शय्याको विवरण पेस नगर्ने ६८ अस्पतालको विवरण स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतसमक्ष बुझाउनुभएको छ।

अस्पतालले कुल शय्याको १० प्रतिशत विपन्न नागरिकलाई छुट्याउनुपर्ने हुन्छ। काठमाडौँ महानगरले जेठ ६ गते एक साताभित्र १० प्रतिशत शय्या छुट्याएर निःशुल्क उपचार गरेको विवरण महानगरभित्रका स्वास्थ्य संस्थाहरूसँग माग गरेको थियो। समयमा महानगरलाई विवरण नबुझाउने स्वास्थ्य संस्थामाथि कारबाही अगाडि बढाउन महानगरपालिका प्रमुख शाहले स्वास्थ्यमन्त्री बस्नेतसमक्ष उक्त विवरण बुझाउनुभएको हो।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले सबै सरकारी, निजी, सामुदायिक अस्पताल तथा प्रतिष्ठान र मेडिकल कलेजलाई कुल शय्याको १० प्रतिशत शय्या छुट्याएर निःशुल्क उपचार गर्न निर्देशन दिएको जानकारी दिनुभयो। स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्डमा अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शय्याको १० प्रतिशत शय्या छुट्याई निःशुल्क उपचार अनिवार्य रूपमा गराउनुपर्ने प्रावधान छ। उहाँले मन्त्रालयबाट भएका आकस्मिक अनुगमनको क्रममा मापदण्ड अनुसार उपचार गरेका स्वास्थ्य संस्थालाई ताकिता गरिएको बताउनुभयो।

कामपा प्रमुख शाहले स्वास्थ्यमा सर्वसाधारणको पहुँच अभिवृद्धि गर्दै सबैका लागि सर्वसुलभ स्वास्थ्य उपलब्ध गराउने र विद्यमान कानुन अनुसार नागरिकले पाउने स्वास्थ्यसम्बन्धी छुट सुविधा उपलब्ध गराउनेतर्फ स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गराएको बताउनुभयो।

उहाँले काठमाडौँ महानगरपालिकाले छुट सुविधासम्बन्धी विवरण माग गर्दा उपलब्ध नगराउने ती स्वास्थ्य संस्थाको संलग्न विवरण अनुसार नियमन र कारबाही गर्न अनुरोध गरेको जानकारी दिँदै स्वास्थ्यमन्त्री बस्नेतले सात दिनभित्र अस्पताललाई कानुनी दायरामा ल्याइने बताउनुभयो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स