24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

कोभिडकालमा बन्द भएको टिपताला नाका अझै खुलेन

ताप्लेजुङ । चीनको तिब्बतसँग जोडिएको ताप्लेजुङको उत्तरी टिपताला नाका नखुल्दा सीमावर्ती क्षेत्रका बासिन्दा समस्यामा छन् । कोभिड १९ को सङ्क्रमण सुरु भएसँगै बन्द भएको नाका नखुल्दा सीमावर्ती क्षेत्रमा बसोबास गर्नेहरूको व्यवसाय सङ्कटमा परेको छ भने दैनिकीसमेत असहज बनेको छ ।

तिब्बतबाटै खाद्यान्नलगायतका सामान ल्याएर उपभोग गर्ने सर्वसाधारण तथा सीमापार व्यापारमा निर्भर रहेका याङ्मा, फले, घुन्सा, ओलाङ्चुङगोलालगायतका उद्योगी, व्यवसायी मर्कामा परेको ओलाङ्चुङगोलाका टाँसी शेर्पाले बताउनुभयो । “टिपताला हुँदै तिब्बतमा लगेर बेचिने गलैँचासहितका स्थानीय उत्पादन लामो समयदेखि घरैमा थन्किएका छन्, खाद्यान्नलगायतका उपभोग्य वस्तु सदरमुकामलगायतका ठाउँबाट महँगो भाडा तिरेर ल्याउनुपरेको छ, नाका खुल्ने अत्तोपत्तो छैन”, शेर्पाले भन्नुभयो ।

सडक सञ्जालसँग नजोडिएको ओलाङ्चुङगोलामा सदरमुकाम फुङलिङमा प्रतिकिलो ३० रुपैयाँ पर्ने नुन ८० रुपैयाँ पर्छ । तिब्बततर्फबाट निर्माण भएको सडक ओलाङ्चुङगोला बस्तीमा आइपुगे पनि सदरमुकामसँग अझै नजोडिएकाले यातायात र ढुवानीमा समस्या छ । सदरमुकाम तर्फबाट लगिएका सामान आधा बाटोबाट भरिया वा खच्चडमार्फत ढुवानी गर्नुपर्छ । लेलेपसम्म गाडीमा र त्यसपछि भरिया वा खच्चड र चौँरीलाई बोकाएर सामान लैजानुपर्छ । लेलेपदेखि ओलाङ्चुङगोला पुर्‍याएको ढुवानी भाडा प्रतिकिलो ५० रुपैयाँ पर्ने स्थानीयवासीले बताएका छन् । सामानको खरिद र ढुवानी खर्च दुवै तुलनात्मकरूपमा तिब्बततर्फ धेरै नै सस्तो पर्छ ।

वर्षौंदेखि सीमावर्ती क्षेत्रका बासिन्दाले आफ्ना उत्पादन तिब्बतमा पुर्‍याउने र तिब्बतबाट आवश्यक सामान खरिद गरेर ल्याउने गरेका छन् । घुन्सा, याङ्मा, ओलाङ्चुङगोलामा उत्पादन हुने ८० प्रतिशतभन्दा बढी गलैँचा चीनको तिब्बतमा निर्यात हुँदै आएको थियो ।

गलैँचा मात्रै नभई स्थानीयरूपमा पाइने जडीबुटी, घ्यू, छुर्पीलगायतका उत्पादन तिब्बतका बजारमा बेचेर उतैबाट खाद्यान्नलगायतका सामान स्थानीयवासीले लिएर घर फर्किने गरेका थिए । सीमा नाका बन्द भएसँगै आवतजावत पूर्णरूपमा ठप्प हुँदा यहाँको उत्पादनले बजार र मूल्य नपाएको र दैनिक उपभोग्य वस्तुसमेत महँगोमा खरिद गर्नुपरेको स्थानीयवासीले गुनासो गरेका छन् ।

नाका बन्द हुँदा इलाम, पाँचथर र ताप्लेजुङका विभिन्न क्षेत्रका किसानले उत्पादन गरेको र व्यवसायीले सङ्कलन गरेको चिराइतो झापाको बिर्तामोड हुँदै भारततर्फ निकासी भइरहेको छ । यसरी लामो समयदेखि नाका बन्द हुँदा स्थानीयवासीले बेहोर्नुपरेको समस्या स्मरण गर्दै सरोकारवालाले नाका खोल्न पहल गर्ने बताउँदै आएका छन् ।

ओलाङचुङगोला यसअघि नै तिब्बतसँग सडक सञ्जालले जोडिए पनि सदरमुकामसँग भने जोडिएको छैन । यता याङ्मा, घुन्सा, थुदाममा पुग्नसमेत दुईदेखि तीन दिनको समय लाग्छ । ओलाङचुङगोलामा ५३ परिवारको बसोबास छ भने याङ्मामा १३ परिवार बस्छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स