29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

मधेस प्रदेशको मन्त्रिपरिषद्ले पायो पूर्णता

जनकपुरधाम । नेकपा माओवादी केन्द्र सरकारमा सहभागी भएसँगै मधेस प्रदेश सरकारले पूर्णता पाएको छ । मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारले मंगलबार पूर्णता पाएको हो । प्रदेशमा नौ मन्त्री र तीन राज्यमन्त्री नियुक्त भई पदभार ग्रहण गरिसकेपनि माओवादी केन्द्रले दुईवटा मन्त्रालय पाउनुपर्ने अडान राखेर सरकारमा सहभागी नभएको हुँदा सरकारले पूर्णता पाएको थिएन । तर, बुधबार अन्ततः माओवादी केन्द्रले एकवटा मन्त्री र एकवटा राज्यमन्त्री लिएर मंगलबार सरकारमा सहभागी भएको हो । यससँगै मधेसमा १५ सदस्यीय मन्त्रिपरिषद् बनेको छ ।

माओवादी केन्द्रबाट उद्योग, पर्यटन तथा वन मन्त्रीमा सुनिता यादव र उद्योग, पर्यटन तथा वन राज्यमन्त्रीमा रहबर अन्सारीलाई नियुक्त गरेसँगै मुख्यमन्त्री यादव नेतृत्वको सरकारले पूर्णता पाएको हो । उद्योगमन्त्री यादव समानुपातिक प्रणालीबाट धनुषाबाट निर्वाचित सहिद रामवृक्ष यादव समानुपातिक सांसद हुन् । माओवादी जनयुद्धकालमा सेनाले हत्या गरेका जनयुद्धकालीन सहिद र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको समकक्षी समेत रहेका सहिद रामवृक्ष यादव ‘मास्टर साहब’की कान्छी छोरी हुन् ।

प्रदेशमा मुख्यमन्त्री यादव नेतृत्वको सरकारमा १५ सदस्यीय मन्त्रीमण्डल विस्तार भएको हो । १ सय ७ सदस्य प्रदेशसभामा १० मन्त्री र ४ राज्यमन्त्री हुने व्यवस्था छ। सरकारमा नेकपा एमालेबाट चार मन्त्री र एक राज्यमन्त्री, जसपाबाट मुख्यमन्त्रीसहित ३ मन्त्री र एक राज्यमन्त्री, जनमतबाट दुई मन्त्री र एक राज्यमन्त्री र जसपाबाट ३ मन्त्री र एक राज्यमन्त्री गरी सहभागी चारवटा दलबाट सांसदहरु नियुक्त भई पदभारसमेत ग्रहण गरी कार्यभार सम्हालेका हुन् ।

मुख्यमन्त्री यादव पुस २७ गते नियुक्त भएपनि उनको नेतृत्वको सरकारले २८ दिनमा पूर्णता पाएको हो । उनी ६३ जना सांसदको समर्थनमा मधेसका मुख्यमन्त्री नियुक्त भएका थिए । सरकारमा चारवटा दलमात्रै सहभागी भएपनि मुख्यमन्त्री यादवलाई माघ चार गते सिंगो प्रदेशसभाले नै विश्वासको मत दिएको थियो ।

१० दलको प्रतिनिधित्व रहेको मधेस प्रदेशमा सत्ता गठबन्धनमा एमालेका २४, जसपाका १९, जनमत पार्टीका १३, लोसपाका ९, माओवादी केन्द्रका ९, नेपाल संघीय समाजवादी पार्टी १ राप्रपाका १ सांसद छन् । प्रदेश सभामा नेपाली काँग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टी प्रमुख प्रतिपक्षमा रुपमा छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स