24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा खानेपानी योजनाको काम सुरु

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको तीन वडामा साप्सुखोलाको पानी निकालेर वितरण गर्ने गरी लिफ्टिङ खानेपानी योजनाको काम सुरु गरिएको छ ।

वडा नं ३ बाम्राङ, वडा नं ४ खाल्ले र वडा नं ५ लफ्याङमा खानेपानीको सुविधा विस्तार गर्ने उद्देश्यले मेवा दोभान, साप्सु कालिका देवीस्थान लिफ्टिङ खानेपानी योजनाको काम थालिएको हो । लफ्याङस्थित साप्सुखोला किनारमा शनिबार आयोजित कार्यक्रममा तत्कालीन संविधानसभा सदस्य अर्जुन राईले विधिवत लिफ्टिङ खानेपानी योजना शिलान्यास गरेका छन्।

साप्सुखोलाको पानी पाँच हजार एक सय मिटरमाथि रहेको पर्यटकीयस्थल मझुवागढीस्थित देवीस्थानमा निकालेर दुई हजार तीन सय ८२ घरधुरीलाई वितरण गर्ने गरी लिफ्टिङ खानेपानी योजनाको काम सुरु गरिएको हो । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालय खोटाङमार्फत रु ५४ करोड ६७ लाख ९० हजार सात सय १६ मा मृत सञ्जिवनी–सगरमाथा जेभी काठमाडौँले लिफ्टिङ खानेपानी योजनाको ठेक्का लिएको छ ।

निर्माण कम्पनीले विसं २०८२ भदौ ४ गतेसम्ममा सम्पन्न गर्ने गरी विसं २०७९ साउन २२ गते लिफ्टिङ खानेपानी योजनाको सम्झौता गरेको हो । खानेपानीको बढ्दो समस्या समाधान गर्नका लागि खोलाको पानी निकाल्ने योजना सुरु गरिएको मेवा दोभान, साप्सु कालिका देवीस्थान लिफ्टिङ खानेपानी योजना उपभोक्ता समितिका अध्यक्ष ललितकुमार राईले बताए । निर्माण कम्पनीले विसं २०७९ भदौ ५ गतेदेखि काम सुरु गरेको जनाएको छ ।

लिफ्टिङ खानेपानी योजनाअन्तर्गत ६१ वटा आरभिटी ट्याङ्की, एउटा ट्रिटमेन्ट प्लान्ट, एउटा कार्यालय भवन, एउटा सम्प वेल, सातवटा गार्ड हाउसलगायतका संरचना बन्ने जनाइएको छ । एक सय तीन किलोमिटर वितरण पाइप लाइन र खोलाबाट पाँच हजार एक सय ट्रान्समिसन लाइनको काम हुने निर्माण कम्पनीका इञ्जीनियर हरिदेवकिशोर रजकले जानकारी दिएका छन् ।

खोलाको पानी प्रतिसेकेण्ड २५ लिटरका दरले देवीस्थानमा निकाल्ने योजनासहित लिफ्टिङको काम अघि बढाइएको छ । एक मेगावाट क्षमताको मेवाखोला हाइड्रोपावर सञ्चालनमा ल्याएका संविधानसभा सदस्य राईकै पहलमा हाइड्रोपावर नजिकैबाट लिफ्टिङ खानेपानी योजना सुरु गरिएको हो ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा रम्बाखोला–माझखोला साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमार्फत दिक्तेल सहरी खानेपानी तथा सरसफाइ आयोजना सञ्चालन गरिएको छ । दिक्तेल सहरी खानेपानी तथा सरसफाइ आयोजना गत वर्षको चैत (विसं २०७८) देखि सञ्चालनमा ल्याइएको हो ।

रम्बाखोला, माझखोला र काउले मुहान भएको खानेपानी आयोजनालाई मिलाएर दिक्तेल वडा नं १ दिक्तेल, २ सोल्मा र ३ बाम्राङका एक हजार ४९ घर उपभोक्तालाई प्रशोधन गरिएको स्वच्छ र गुणस्तरीय पानी वितरण गरिएको छ । नेपाल सरकारको ७० प्रतिशत र उपभोक्ता समितिको ३० प्रतिशत गरी रु २२ करोड ५५ लाख ५८ हजार लगानीमा खानेपानी आयोजना सञ्चालन गरिएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स