26.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

मनसुनको सुरुवातमै किन पर्‍यो धेरै पानी ? जान्नुहोस यि कुरा

काठमाडौं । तीन दिन पहिले यो बर्षको मनसुन सुरु भएको बताउँदै मौसमविदहरुले एक साता लगातार बर्षा हुने पूर्वानुमान गरेका थिए । नभन्दै असार १ गतेदेखि नै देशमा विभिन्न भूभागमा बर्षा भइरहेको छ । अविरल बर्षाका कारण आएको बाढीले गण्डकी प्रदेश अन्र्तगत मनाङको चामेमा भौतिक क्षति पुर्‍यायो । बागमती प्रदेश अन्र्तगत सिन्धुपाल्चोकमा रहेको हेलम्बु गाउँपालिका र मेलम्ची बजारमा बाढीले बितन्डा मच्चायो ।

याङ्ग्री र लार्के खोला मिसिएको इन्द्रावती नदी र मेलम्ची नदी मिसिने स्थानमा मेलम्ची बजार छ । दुई तिरबाट आएको बाढीले मेलम्ची बजार क्षेत्र डुबानमा पर्‍यो भने उता मेलम्ची नदीले हेलम्बु गाउँपालिकाका नदीछेउका घर गोठ तथा करोडौं लगानी गरिएका रेन्बो ट्राउट फार्म बगाएको छ । त्यस्तै लमजुङको दोर्दीखोलामा आएको बाढीले १४ घर बगाएको छ । यस्तै पाल्पामा परेको अबिरल बर्षाले रानीमहल तथा रुरुक्षेत्र डुबानमा परेको छ भने गोरखा चुमनुब्रीमा बुढीगण्डकी नदीले ४ घर बगाएको छ भने ७ घर जोखिममा छ ।

जल तथा मौसम पूर्वानुमान शाखाका अनुसार नेपालमा सबैभन्दा धेरै मनसुनको प्रभाव पश्चिमी क्षेत्रमा रहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली सुदुरपश्चिम प्रदेशमा अन्य क्षेत्रमा भन्दा बढी बर्षा भइरहेको छ । जल तथा मौसम विभाग अन्तर्गतको मौसम पूर्वानुमान शाखाका बरिष्ठ मौसमविद् बरुण पौडेल यसवर्ष मनसुन अलि छिटो सुरु भएको बताउँनुहुन्छ। नेपालमा पानी पार्ने प्रणाली बंगालको खाडीबाट भारत हुँदै नेपाल प्रवेश गर्ने गर्छ । यस्तै पानी पार्ने प्रणाली नेपालको आकासमै पनि विकास भएकाले देशभर लगातार मध्यम खालको बर्षा भइरहेको पौडेलको भनाइ छ ।

मौसम पूर्वानुमान शाखाका अनुसार मनसुन कहिले एकदमै सक्रिय भएर प्रवेश गर्छ, कहिले निस्क्रिय भएर प्रवेश गर्छ । यसपाली सुरुवाती रुपमै सक्रियरुपमा प्रवेश गरेको थियो । यो प्रक्रिया अझै केही दिन रहने देखिएको छ । गण्डकी लुम्बिनी र बागमती प्रदेशमा लगातार बर्षा भइरहेको छ । बिहीबारबाट भारी बर्षा केही कम हुने तर मध्यमखालको बर्षा दुई–चार दिन रहने महाशाखाले जानकारि दिएको छ ।

वर्षा गराउने प्रणाली जसलाई न्यून चापीय रेखा भनिन्छ । बंगालको खाडीबाट विकास भएर भारतको बिहार, झारखण्ड हुँदै नेपालको सीमाछेउ पूर्वोत्तर भागमा न्यून चापीय क्षेत्र अर्थात वर्षा गराउने प्रणाली विकास भएको छ । त्यसको कारणले र नेपालमा पनि न्युन चापीय रेखा पनि अर्थात वर्षा गराउने प्रणाली विकास भएकोले अहिले नेपालमा बढी बर्षा भइरहेको छ । अघिल्ला बर्षको तुलनामा मनसुन सक्रिय रुपमा प्रवेश गरेकाले देशभरि नै भारि बर्षा भएको हो ।

लगातारको वर्षाका कारण बाढी प्रकोपको घटना बढिरहेकाले सर्वसाधारणले आफू बसेको स्थान कस्तो छ त्यो पत्ता लगाउनुपर्ने, आफ्नो क्षेत्रमा रहेका खहरे खोलाहरूको अवस्था विचार गर्ने, बालबालिकालाई खोला तर्न नदिने, पहाडि क्षेत्रमा ढुङ्गा खस्ने ठाउँमा नबस्न र शहरी क्षेत्रमा ढल निकास जाम भएको छ कि भन्ने जस्ता कुराहरुमा विचार पुर्याउन महाशाखाले आग्रह गरेको छ ।

महाशाखाका अनुसार बितेको २४ घण्टामा सबैभन्दा धेरै पानी पोखरामा परेको छ । पोखरमा १ सय १० मिलीमिटर पानी परेको छ । दाङमा ५० दशमलव ८ मिलीमिटर, धनगढीमा ५२ मिलीमिटर, नेपालगञ्जमा ४५ मिलीमिटर, वीरेन्द्रनगर सुर्खेतमा ४७ दशमलव ४७ मिलीमिटर, काठमाडौंमा १२ मिलीमिटर बर्षा भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स