27.1 C
Kathmandu
Tuesday, September 26, 2023

सिन्धुपाल्चोकको मेलम्चीमा बाढीको वितण्डा : मेलम्ची बजारको बस्तिमा क्षति, अनिश्चितकालसम्म सतर्कता अपनाउन आग्रह

हेलम्बु । गएरातीको अविरल वर्षाले गर्दा ठूलो बाढी आउँदा  सिन्धुपाल्चोकको मेलम्ची बजार लगायत बस्तीमा क्षति भएको छ ।  मेलम्चीमा आएको बाढीले सदरमुकाम चौतारा र हेलम्बु गाउँपालिका सबैभन्दा बढी प्रभावित भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बाढी र पहिरो प्रभावित क्षेत्रमा यातायात सम्पर्क विच्छेद भएको छ । मेलम्ची–नवलपुर–चौतारा जोड्ने पुल समेत बगेको छ । ठाउँ–ठाउँमा झोलुङ्गे पुल पनि बगेका छन् । खानेपानी र विद्युत सेवा पनि अवरुद्ध भएका छन। सिन्धुपाल्चोकको तिम्बु, चनौटे र मेलम्ची बजारमा व्यापक क्षति पुगेको छ । दुईवटा पक्की पुल र ट्राउट माछा फार्म पनि बाढीले बगाएको छ ।

प्रहरीका अनुसार अहिले पनि लेदो र ठूला ढुंगासहितको पहिरो झर्ने क्रम जारी रहेकाले उद्धारमा कठिनाइ भइरहेको छ । उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन भएको जनाइएको छ । राति ठूलो बाढी र पहिरो झर्न थालेपछि किउल, ग्याल्थुम, तिपेनी, तालामाराङ, मेलम्चीलगायतका स्थानका बासिन्दा घर छाडेर सुरक्षित स्थानमा बसेका छन् ।

यसैबीच जल तथा मौसम विज्ञान विभागले सिन्धुपाल्चोकको जलबिरेस्थित बलेफी खोला जलमापन केन्द्रमा अक्स्मात जलसतह बढेर खतराको तह पार गरेकाले तटीय क्षेत्रहरूमा अर्को सूचना जारी नभएसम्मका लागि उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । विभागका अनुसार रसुवाको स्याफ्रुबेसीस्थित भोटेकोशीको बाढीले पनि सतर्कताको तह पार गरेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल भारतको झारखण्डमा रहेको न्यूनचापीय क्षेत्र र मनसुन न्यून चापीय रेखाको कारण नेपालमा मनसुन थप सक्रिय भएको छ । यसको प्रभावले नेपालका धेरै स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा भारी वर्षा र थोरै स्थान अति भारी वर्षा हुने सम्भावनासमेत रहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गरी आग्रह गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स