24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

कोभिड नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भित्रिन नदिन जमुनाहा नाकामा कडाई

नेपालगञ्ज । घातक मानिएको कोभिडको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भाइरस भारतबाट नेपाल भित्रिन सक्ने सम्भावना रहेकाले यहाँस्थित जमुनाहा नाकामा कडाई शुरु गरिएको छ ।

विशेषगरी भारतका विभिन्न ठूला सहरमा काम गरेर फर्किने नेपालीसँगै सो भाइरस पनि भित्रिन सक्ने खतरा रहेकाले स्वदेश फर्किने सवै नेपालीको एन्टिजेन प्रविधिमार्फत कोरोना जाँच गर्न थालिएको जिल्ला कोभिड १९ व्यवस्थापन समिति बाँकेले जनाएको छ ।

जिल्ला कोभिड १९ व्यवस्थापन समिति बाँकेका फोकलपर्सन तेज ओलीकाअनुसार यसअघि भारतबाट आउने हरेक समुहबाट एक जनाको मात्रै परीक्षण गरेर पोजेटिभ भेटिएमा अरु सबैको गर्ने गरिएको थियो । अहिले भारतबाट आउने सबैको परीक्षण शुरु गरिएको उहाँले बताउनुभयो ।

जमुनाहा नाकामा रहेका हेल्थ डेस्कलाई भारतबाट फर्किने सबै नेपालीको कोरोना जाँच गर्न निर्देशन दिइएपछि काम गरेर फर्किने सवै नेपालीको कोरोना जाँच गर्न थालिएको हेल्थ डेस्क इन्चार्ज गीता गिरि शाहीले बताउनुभयो । भारतबाट आउने कसैलाई नछुटाएर जाँच गर्न निर्देशन रहेकोले सबैको परीक्षण भैरहेको उहाँले जानकारी दिनुभयो ।

यस २४ घण्टामा नाकामा २०३ जनाको कोरोना जाँच गर्दा एक जनामा संक्रमण पुष्टि भएको हुँदा ती संक्रमितको नमुनालाई ‘ओमिक्रोन’ परीक्षणका लागि काठमाडौं पठाइएको कोरोना फोकलपर्सन ओलीले बताउनुभयो । उहाँकाअनुसार सल्यानका करिव ३५ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टी भएको छ । उहाँ भारतको हिमाञ्चलबाट नेपाल फर्किनुभएको हो । युवकलाई छुट्टै गाडीको व्यवस्था गरी गृह जिल्ला पठाएर चिकित्सकको निगरानीमा राखिएको ओलीले बताउनुभयो ।

इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज सई मिनबहादुर विष्टले ‘ओमिक्रोन’ भाइरस भारतबाट नेपाल भित्रिन सक्ने सम्भावनालाई हेरेर नाकामा कडाई गरिएको बताउनुभयो । भारतबाट ओमिक्रोन भित्रिन नदिन केन्द्रबाट आएको निर्देशनअनुसार कडाई गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स