27.1 C
Kathmandu
Tuesday, September 26, 2023

चितवनका सरकारी कार्यालयको नियमित सेवा भदौ १ देखि १० गतेसम्म बन्द

चितवन । जिल्लामा कोरोना भाइरस सङ्क्रमण बढ्दै गएपछि स्थानीय प्रशासनले भीडभाड हुने कार्यालयको नियमित सेवा बन्द गर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा आज जारी आदेशमा भीडभाड हुने कार्यालय भदौ १ गतेदेखि १० गतेसम्मका लागि नियमित सेवा वन्द गर्ने जनाइएको छ ।

आदेशमा सभा, सम्मेलन, प्रदर्शन, भेला, सेमिनार, तालीम, सिनेमा, पार्टी प्यालेसलगायत सञ्चालनमा रोक लगाइएको छ । बढी भीडभाड हुने जिल्लाका सरकारी कार्यालयबाहेक अन्यमा यसअघि कै व्यवस्था कायम गरिएको छ । खाद्यान्न, तरकारी, फलफूल, दूध डेरी, माछामासु, अण्डा, दाना, ग्यास, पूजा, पसल हरेक दिन बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्न पाइने छ । तोकिएका बाहेकका अन्य पसल आइतबार, मङ्गलबार र बिहीबार दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म खुल्न पाउने छन् । आदेशमा भनिएको छ, “जिल्लास्थित सरकारी कार्यालयमध्ये बढी भीडभाड हुने जिल्ला प्रशासन कार्यालय, मालपोत, नापी र यातायात व्यवस्था कार्यालयले अत्यावश्यक तथा आन्तरिक कार्यबाहेक नियमित सेवाप्रवाह स्थगन गरिने छ ।”

यसरी खुल्न पाउने पसलमा इलेक्ट्रोनिक, भाँडा, कपडा, फेन्सी, कस्मेटिक, सुनचाँदी, फर्निचर, जुत्ता चप्पल, टेलरिङ, पुस्तक पसललगायत व्यापारिक पसल छन् । खाजा घर, रेष्टुरेण्ट, मिठाई पसल दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म खुल्ने छन् । सार्वजनिक सवारी जोरविजोर प्रणालीलाई निरन्तरता दिइएको छ । सिट क्षमताअनुसार सञ्चालन गर्न पाइने छ । यसअघि प्रमुख जिल्ला अधिकारीले स्थानीय तहका प्रमुखसँग छलफल गरेर जिल्लामा कडाइ गर्ने योजना बनाउनुभएको हो ।

यसैबिच भरतपुर अस्पतालले यहाँ उपचार गर्न आउने बिरामीलाई अत्यावश्यक अवस्थाबाहेक अन्य समयमा अस्पताल नआउन अनुरोध गरेको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा जगन्नाथ तिवारीले आज सार्वजनिक सूचना जारि गर्दै कोरोनाका बिरामीको चाप अस्पतालमा बढ्दै गएकाले आवश्यक अवस्थामा मात्रै अस्पताल आउन अनुरोध गर्नुभएको हो ।

अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन तथा जथाभावी नडुल्न तथा घरबाट बाहिर निस्कनै पर्ने भएमा जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड पूर्णरुपमा पालना गर्न सूचनामा सबैलाई अपिल गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स