24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

कोरोना संक्रमण बढ्न थालेपछि उपत्यकामा निषेधाज्ञा थप कडा बनाउने प्रशासनको तयारी

काठमाडौँ । कोरोना भाइरसका संक्रमितहरु पुनः बढ्दै जान थालेपछि काठमाडौँ उपत्यकाको निषेधाज्ञा कडा बनाउने तयारी थालिएको छ । उपत्यकाका तीनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रशासन कार्यालयले जारी निषेधाज्ञालाई थप कडाइ गर्ने तयारी थालेको बताइएको छ ।

अहिले साउन २८ देखि भदौ ८ गतेसम्मका लागि जारी निषेधाज्ञामा राति ८ बजेपछि सार्वजनिक तथा निजी सवारी चलाउन नपाइने र ७ बजेभित्र पसल बन्द गरिसक्नुपर्ने भनिएको छ । तर यतिले मात्र नपुग्ने हुँदा कोरोना नियन्त्रणका लागि निषेधाज्ञामा थप कडाइ गर्न लागिएको बताइएको छ ।

उपत्यकामा भीडभाड बढेसँगै कोभिडका बिरामी पनि बढ्दै गएका छन् । अहिले मुलुकभर ३९ हजार भन्दा बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आइतबार मात्र १ हजार ७९३ नयाँ संक्रमित थपिएका छन् । तीमध्ये अधिकांश काठमाडौँ उपत्यकामा मात्रै रहेका छन् ।

काठमाडौंमा संक्रमणको दर बढ्दो गतितर्फ रहेको बताउँदै काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले संक्रमण दरको थप समीक्षा गर्दै निषेधाज्ञामा कडाइ गरिने बताउनुभएको छ ।

यसैबीच, गृह मन्त्रालयले कोरोना भाइरसको तेस्रो लहरको सम्भावनालाई स्विकार्दे देशैभरी पहिलो र दोस्रो लहरको बेला सञ्चालित कोरोना अस्पताललाई पुनः सूचीकरण गर्न सम्बद्ध निकायलाई निर्देशन दिएको छ । कोरोना जोखिम आकलन गरेरै स्वास्थ्य मन्त्रालयले पठाएको सूचनाका आधारमा गृहले बन्द रहेका देशभरका कोभिड–१९ आइसोलेशन सेन्टर, अस्पताल र शिक्षण अस्पताल पुनः सूचीकरण एवं व्यवस्थापन गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स