29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

विपद् व्यवस्थापन गर्न ५ करोड उपलब्ध गराउने वाग्मती प्रदेश सरकारको निर्णय

हेटौंडा । वाग्मती प्रदेश सरकारले विपद् व्यवस्थापनका लागि सबै १३ जिल्लालाई गरी ५ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा सोमबार बसेको प्रदेश विपद् व्यवस्थापन निर्देशक समितिको बैठकले भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सिन्धुपाल्चोक, चितवन र रसुवाका जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयलाई ५०—५० लाख रुपैयाँ दिने पनि निर्णय गरेको हो ।

सिन्धुपाल्चोकमा बाढीका कारण सिर्जित कटान, डुबान, आवागमन अवरोध तथा विभिन्न पूर्वाधारमा भएको क्षतिको लगत संकलन गरी तत्काल प्रकोप व्यवस्थापन र पूर्वाधार मर्मत गरी अवरुद्ध सेवा सुचारु गर्न प्रदेश विपद् व्यवस्थापन कोषबाट जिल्ला विपद् व्यवस्थापन समितिलाई १ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ । यस्तै काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, दोलखा, रामेछाप, सिन्धुली, मकवानपुर, धादिङ र नुवाकोटका सिँचाइ कार्यालयलाई पनि २५—२५ लाख रुपैयाँ निकासा हुने बैठकले निष्कर्ष निकालेको छ ।

विपद् प्रभावित क्षेत्रमा खानेपानी एवं सरसफाइसम्बन्धी प्रबन्ध गर्न सम्बन्धित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयलाई र क्षति भएका सडक, पुल तथा अन्य अत्यावश्यक पूर्वाधार तत्काल मर्मत र निर्माण गर्न सम्बन्धित पूर्वाधार विकास कार्यालयहरूलाई समन्वयात्मक ढंगबाट उल्लेखित कार्यसम्पादन गर्न भौतिक पूर्वाधार विकास मन्त्रालयलाई व्यवस्था मिलाउन जिम्मेवारी दिइएको छ । यो सँगै सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्र हेलम्बुमा बुधबार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको व्यवस्थापनमा स्वास्थ्यकर्मी र औषधिसहितको स्वास्थ्य शिविर सञ्चालन गर्ने समेत बैठकले निर्णय गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स