24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

उप-निर्वाचनका लागि आचारसंहिता लागू

काठमाडौं । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि आजदेखि आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले चितवन, बारा र तनहुँ जिल्लाभर आजदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि निर्वाचन आचारसंहिता, २०७९ को सम्पूर्ण व्यवस्था लागू भएको जनाएको हो ।

निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को उपदफा २ ले दिएको अधिकार प्रयोग गरी आचारसंहिता लागू गर्ने निर्णय गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

आगामी वैशाख १० गते चितवन क्षेत्र नं २, बारा क्षेत्र नं २ र तनहुँ क्षेत्र नं १ मा उपनिर्वाचन हुँदैछ । सङ्घीय सरकार र सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेशका मन्त्री, संवैधानिक निकाय र सो निकायका पदाधिकारी, नेपाल सरकार वा प्रदेश सरकारका निकाय र सो निकायका पदाधिकारी, स्थानीय कार्यपालिका र सोका सदस्य, सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारीलाई आचारसंहिता लाग्ने आयोगले जनाएको छ ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक व्यवस्था मिलाउन तीनवटै जिल्लाका जिल्ला आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिइएको बताउनुभयो ।

आचारसंहिता लागू हुने निर्णय गरेलगत्तै बसेको केन्द्रीय आचारसंहिता अनुगमन समितिको बैठकले सम्बन्धित व्यक्तिलाई भ्रामक, गलत र द्वेषपूर्ण अभिव्यक्ति नदिन तथा कसैको चरित्र हत्या हुने, व्यक्तिगत लाञ्छना लगाउने, मानहानि हुने वा यस प्रकारको सामग्री उत्पादन, प्रकाशन र प्रसारण नगर्न नगराउन सामाजिक सञ्जाल प्रयोगकर्तालाई सचेत गराएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स