26.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

निर्वाचनको लागि तीन लाख सुरक्षाकर्मी परिचालन, हेलिकोप्टर पनि तयारि अवस्थामा

काठमाडौं । सरकारले निर्वाचनलाई असर गर्ने खालका गतिविधि नियन्त्रण गर्न सक्षम रहेको बताएको छ । शुक्रबार निर्वाचन पूर्व तयारीको सम्बन्धमा जानकारी दिनका लागि गृह मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्दै निर्वाचनलाई असर गर्ने खालका क्रियाकलापहरूलाई नियन्त्रण गर्न सरकार सक्षम रहेको बताएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै गृह सचिव विनोदप्रकाश सिंहले अराजक र हिंसात्मक गतिविधि गर्ने व्यक्ति तथा समूहहरूलाई कानुनी दायरामा ल्याइने बताए । उनले मतदानलाई असर पर्ने खालका कुनै पनि गतिविधि हुन नदिइने स्पष्ट पारे । उनले कर्मचारी, मतदाता, उम्मेदवार र मतपेटिका लगायत मतदान सामग्रीको सुरक्षामा खतरा पैदा हुने कुनै पनि क्रियाकलाप सह्य नहुने बताए । त्यस प्रकारका गतिविधिहरूलाई सरकारले कडाइपूर्वक नियन्त्रण गर्ने उनले बताए ।

‘कुनै पनि किसिमले मतदानलाई असर गर्ने, कर्मचारीको सुरक्षा, मतदाताको सुरक्षा, उम्मेदवारको सुरक्षा, मतदान सामग्रीको सुरक्षामा क्षति हुने र खतराहरू कुराहरू छ भने त्यो कुरा सह्य हुनेछैन । त्यसमा सरकारले, सुरक्षा निकायहरूले कडा रूपमा त्यसलाई नियन्त्रण गर्नेछ । हामीसँग संख्याका हिसाबले केही समूह, केही दल, केही व्यक्तिहरू पनि हुन सक्छन् । हामी तिनीहरूका गतिविधिहरूलाई सूक्ष्म रूपमा निगरानी गरिएको छ,’ उनले भने, ‘निर्वाचनलाई असर गर्ने र विशेष गरी भौतिक रूपमा असर गर्ने खालका क्रियाकलाप हुने खालका गतिविधि छन् भने तिनीहरूलाई नियन्त्रण गर्न हामी सक्षम छौँ र त्यसमा स्पष्ट निर्देशन स्थानीय तहसम्म रहेका सुरक्षाकर्मीहरूलाई पुगिसकेको छ । तदनुरूप हाम्रा कार्यहरू भइरहेका छन् ।’

गृह सचिव सिंहले मतदान स्थलमा खटिने कर्मचारी र सुरक्षाकर्मीहरूलाई निर्वाचनलाई निष्पक्ष रूपमा सम्पन्न गराउन निर्देशन दिइएको जानकारी गराए । निर्वाचनको निष्पक्षतामाथि प्रश्न उठ्ने गरी काम गर्ने कर्मचारीहरूलाई कारबाही गरिने उहाँले स्पष्ट पारे । उनले कर्मचारीहरूलाई कुनै पार्टी, उम्मेदवार वा आस्थाप्रति झुकाव हुने गरी क्रियाकलाप नगर्न निर्देशन दिए ।

‘मतदान स्थलमा खटिने कर्मचारी, सुरक्षाकर्मीहरू सम्पूर्णलाई स्पष्ट निर्देशन छ, हाम्रो दायित्व भनेको निष्पक्ष, भयरहित र शान्तिपूर्ण । निष्पक्षता भनेको सबैभन्दा पहिला हामीबाटै हुन्छ । त्यसमा म पूर्ण रूपमा विश्वस्त छु र विश्वास दिलाउन चाहन्छु त्यसमा हामी प्रतिबद्ध छौँ । र त्यस बाहेकका कार्य गर्ने, निष्पक्षताविरुद्धका कार्य गर्ने कुनै पनि व्यक्ति, कर्मचारी र कुनै पनि संगठन होस् गर्छ भने उसले नियम अनुसारको कानुनी कठघरामा ल्याउने छौँ,’ उनले भने, ‘आचारसंहिता, निर्वाचन कानुनहरूको उल्लंघन गर्नेलाई तदनुरूप कारबाही हुने नै छ । निजामती कर्मचारीहरू र अन्य कर्मचारीहरूको हकमा विभागीय कारबाही र संगठनको नियम अनुसार कारबाही हुनेछ । त्यसैले कुनै पनि कर्मचारीले यस निर्वाचनमा कुनै पार्टी, उम्मेदवारप्रति वा आफ्नो कुनै आस्था उजागर हुने खालका क्रियाकलाप गरेर निष्पक्षतामाथि आशङ्का हुने कुरा गर्छन् भने कारबाही गरिनेछ ।’

गृह सचिव सिंहले मतपेटिकालाई मत गणना स्थलसम्म ल्याउनका लागि सुरक्षा निकायको सवारी साधन प्रयोग नगरिने स्पष्ट पारे । सवारी साधनको अभाव रहेका विकट ठाउँहरूमा भने मतदान अधिकृतले माग गरे अनुरूप सशस्त्र प्रहरीको सवारी साधन प्रयोग गर्न सकिने उहाँले उल्लेख गरे। अन्यथा सुरक्षा निकायको सवारी साधनमा सिल गरिएका मतपेटिका नबोकिने उनको भनाई छ । उनले मंसिर ४ गतेको निर्वाचनमा उत्साहपूर्वक भाग लिन र आफ्नो मताधिकार प्रयोग गर्न मतदाताहरूमा अपिल गरे । गृह सचिव सिंहकारअनुसार हिमाली र उच्च पहाडी जिल्लाका दुर्गम क्षेत्रका मतदान केन्द्रहरूबाट निर्वाचन अधिकृतको कार्यालयसम्म मतपेटिका ल्याउन हेलिकप्टरको प्रयोग गरिनेछ ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरी गरी करिब ३ लाख सुरक्षाकर्मी परिचालन गरिने उनले जानकारी दिए । त्यस्तै प्रत्येक निर्वाचन क्षेत्रमा मंसिर १ गतेदेखि सुरक्षा अनुगमन घुम्ती टोली खटाइएको बताए । सो टोलीले मौन अवधिमा राजनीतिक दल तथा उम्मेदवारले पालना गर्नुपर्ने विषय र आचारसंहिता उल्लंघनका विषयको अनुगमन गर्ने जनाइएको छ ।

उनका अनुसार नेपाली सेनाका हेलिकप्टरहरू इटहरी, बर्दिबास, पोखरा र सुर्खेतमा तयारी अवस्थामा तैनाथ गरिएको छ । नेपालको कुनै पनि स्थानमा बढीमा ३० मिनेटमा पुग्ने गरी नेपाली सेनालाई परिचालन गरिएको गृह सचिव सिंहले जानकारी दिए । त्यस्तै देशभरका ९०३ स्थानमा नेपाली सेनाको बम डिस्पोजल टोली खटाइएको उनले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स