26.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

निर्वाचनमा श्रीमान् श्रीमती दुबैलाई टिकट दिने परिपाटी हटाउन सांसदहरूको माग

काठमाडौं । प्रतिनिधिसभा बैठकमा सांसदहरूले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा श्रीमान् र श्रीमती दुबै जनालाई टिकट दिने परिपाटी हटाउनुपर्ने बताउनुभएको छ ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा समय माग गरी आफ्नो धारण राख्नुहुँदै नेपाली कांग्रेसका सांसद जिपछिरिङ लामाले आगामी निर्वाचनमा श्रीमान् र श्रीमती दुबै जनालाई टिकट दिने परिपाटी हटाउनुपर्ने बताउनुभयो । उहाँले श्रीमान् र श्रीमती दुबैजना उम्मेदवार भएमा उम्मेदवारी खारेज गर्ने नियम बनाउनका लागि निर्वाचन आयोगलाई अनुरोध गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘श्रीमान् प्रत्यक्ष टिकट पायो भने श्रीमती समानुपातिकमा, श्रीमान् समानुपातिकमा भए श्रीमती प्रत्यक्षमा हुने परिपाटी हटाउनुपर्छ । किनभने श्रीमान्, श्रीमती दुबै सांसद हुँदा अरू हरेक पार्टीका कार्यकर्ताहरूले टिकट नपाउने र त्याग तपस्यालाई सधैँ समस्या परिरहने । निर्वाचन आयोगले नियमावली संशोधन गरेर अब श्रीमान् र श्रीमती दुबै उम्मेदवार भए खारेज गर्ने नियम बनाउनुपर्छ ।’’

त्यस्तै, उहाँले नेपाली भूमि लिपुलेक कहिले फिर्ता आउँछ रु भनी सरकारलाई प्रश्न गर्नुभयो । सांसद लामाले भन्नुभयो, ‘‘सरकारलाई पनि सोध्न चाहन्छु, लिपुलेक हाम्रो जमिन हो । त्यो छिमेकीसँग वार्ता गरेर जमिन कहिले फिर्ता आउँछ म सोध्न चाहन्छु ।’’ यसैगरी, नेकपा एमालेका सांसद पदम गिरीले प्रधानमन्त्री शेरबहादुर देउवा र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल विश्वविद्यालयको समस्या समाधान गर्न तर्फ नलागेको आरोप लगाउनुभएको छ ।

नेपाल विद्यार्थी संघले भिसीको कार्यालयमा गएर तोड्फोड गर्ने तथा त्रिवि कार्यकारी समिति बैठकको कागजात खोस्नेलगायतका कामहरू गरिरहेको भन्दै दोषी उपर मुद्दा दर्ता समेत हुन नसकेको उहाँको भनाइ छ । सांसद गिरीले विश्वविद्यालयको समस्या समाधानका लागि सभामुखले गरेको रुलिङ अनुसार काम नभएको भन्दै आपत्ति जनाउनुभयो । सांसद गिरीले प्रधानमन्त्री र शिक्षामन्त्री विश्वविद्यालय खुलाउनतर्फ नलागेको आरोप लगाउनुभयो ।

सांसद गिरीले भन्नुभयो, ‘‘सरकारका प्रमुख प्रधानमन्त्री त्रिभुवन विश्वविद्यालयका कुलपति शेरबहादुर देउवा, सहकुलपति शिक्षामन्त्री आज विश्वविद्यालय खुलाउनतर्फ लाग्नुभएको छैन । बरु स्वयम् सुरक्षा दिनुपर्ने निकायका गृहमन्त्री आज त्यही प्रहरी प्रशासन नेविसंघले लगाएको ताला हेरेर बसिरहेको छ । त्यसको सुरक्षा गरिरहेको छ ।’’

उहाँले प्रधानमन्त्री र शिक्षामन्त्रीलाई विश्वविद्यालय बन्द गराएर देशलाई कहाँ पु¥याउन खोजिएको हो भन्दै प्रश्न समेत गर्नुभयो । उहाँले विश्वविद्यालयको समस्या समाधानका लागि सभामुखलाई पुनः रुलिङ गर्न अनुरोध पनि गर्नुभयो । सांसद गिरीले भन्नुभयो, ‘‘सभामुखलाई पुनः ध्यानाकर्षण गराउन चाहन्छु, सभामुखले १३ गते सरकारको नाममा रुलिङ गर्नुभयो तुरुन्त विश्वविद्यालय खोल्न आवश्यक व्यवस्था मिलाउनु भनेर रुलिङ गर्नुभयो । विश्वविद्यालयका पदाधिकारीहरू विश्वविद्यालय आउनसक्ने अवस्था छैन । यसतर्फ फेरि म ध्यानाकर्षण गराउन चाहन्छु । प्रधानमन्त्री, शिक्षामन्त्री नै स्वयम् विश्वविद्यालयलाई बन्द बनाएर यो मुलुक कसरी सञ्चालन गर्न खोज्नुभएको हो रु विश्वविद्यालयलाई बन्द बनाएर यो देशलाई कहाँ पुर्‍याउन खोज्नुभएको हो रु यो धेरै गम्भीर विषय छ । यसतर्फ पुनः रुलिङ होस् ।’’

यसैगरी, नेकपा माओवादी केन्द्रका सांसद गिरिराजमणि पोखरेलले मिटरब्याजीहरु धमाधम पक्राउ परिरहेको भन्दै सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले मिटरब्याजीहरुको मुद्दालाई कमजोर नबनाउन सरकारसँग आग्रह गर्नुभयो । उहाँले मिटरब्याजीहरुलाई कारबाही गर्ने सम्बन्धमा केही कानुनी अड्चन पनि देखिएको भन्दै सो समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स