23.1 C
Kathmandu
Monday, August 11, 2025
spot_img

७ जेठदेखि काठमाडौंमा ‘सीप मेला २०८२’, २ हजार बढी सहभागीको तयारी

काठमाडौं महानगरपालिका आगामी जेठ ७ गतेदेखि टुँडिखेलमा ‘सीप मेला २०८२’ आयोजना गर्न लागिएको छ। महानगर प्रमुख बालेन्द्र शाह (बालेन) ले मेलामा २ हजार ८२ जनालाई सहभागी गराउने लक्ष्य राखिएको जानकारी दिएका छन्।

विश्व मजदुर दिवस २०८२ को अवसरमा आयोजना हुने मेलाले सुरक्षित, व्यवस्थित र दिगो श्रम बजारको महत्वलाई उजागर गर्नेछ। बालेन शाहले सीपयुक्त जनशक्ति तयार भए मात्र रोजगारीको सुनिश्चितता हुने र यसले उत्पादन वृद्धिसँगै आर्थिक समृद्धिमा टेवा पुग्ने बताए।

महानगरले आर्थिक वर्ष २०८०/८१ देखि ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ कार्यक्रममार्फत १५ हजार युवालाई सीपमूलक तालिम दिई कम्तीमा ५ हजारलाई रोजगार र स्वरोजगारमा जोड्ने लक्ष्य लिएको छ। मेलाबाट नयाँ व्यक्तिहरूलाई सीप सिकाउने, पहिल्यै तालिम लिएकालाई स्तरोन्नति गराउने, र सीपयुक्त जनशक्ति श्रम बजारमा पु¥याउने उद्देश्य राखिएको छ।

गत वर्षको मेलामा ६८ हजार ८६६ जनाले आवेदन दिएका थिए भने २ हजार ५७५ जनालाई तालिम दिइएको थियो। यस वर्ष पनि ‘शिक्षालाई सीपसँग’, ‘सीपलाई श्रमसँग’, र ‘श्रमलाई उत्पादनसँग’ जोड्ने अवधारणालाई प्राथमिकता दिइनेछ।

मेलामा काठमाडौंमा स्थायी वा अस्थायी रूपमा बसोबास गर्ने, ल्याण्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दा, फरक क्षमता भएका व्यक्ति तथा सडक र ठेला व्यापारीलाई प्राथमिकतामा राखिनेछ। वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईका अनुसार धुनिवेँसी नगरपालिकाका वडा नम्बर १, ३, ४ र ककनी गाउँपालिकाका वडा नम्बर १, २, ३ लाई प्रत्यक्ष प्रभावित क्षेत्र मानिएको छ।

यसपटक मेलामा १० विधाका ३० पेशामा तालिम प्रदान गरिने छ, जसको छनोट उद्योग, श्रम बजार र सामाजिक मागको अध्ययनबाट गरिएको हो।

प्रतिक्रिया

हेडलाइन्स