28.8 C
Kathmandu
Tuesday, August 12, 2025
spot_img

अधिकांश स्थानमा बदली र वर्षा, दिउँसोबाट मौसम सुधार

काठमाडौं । पश्चिमी वायु तथा भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश स्थानमा पानी परेको छ । कर्णाली प्रदेशदेखि एक नम्बर प्रदेशका अधिकांश स्थानमा पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अहिलेको यो प्रणाली कमजोर भइसकेकाले आज दिउँसोबाट क्रमिक रुपमा मौसम सुधार हुने पूर्वानुमान छ ।

कर्णाली प्रदेशदेखि प्रदेश १ सम्म कहीँ हल्का, कहीँ मध्यम खालको वर्षा भएको छ । यो प्रणाली कमजोर भइसकेकाले आज दिउँसोबाट भने मौसममा क्रमिक सुधार आउँछ । हाल प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा सामान्य बदली तथा देशका अन्य भूभागमा आंशिक बदली रहेको छ । प्रदेश १ का एक दुई स्थानमा बिहानपख भएको हल्का वर्षा पनि अहिले रोकिइसकेको मौसमविद वासीले बताइन् ।

गएराति काठमाडौं उपत्यकासहित धेरैजसो स्थानमा मेघ गर्जनसहित पानी पनि परेको थियो । उच्च पहाडी र हिमाली भेगमा हिउँसमेत परेको छ । राति पानी परेकाले काठमाडौं उपत्यकामा आज बिहान चिसो बढेको महसुस भएको छ । मौसमविद मञ्जु वासीका अनुसार अबका केही दिन पानी पर्ने सम्भावना छैन तर आकाश खुलेकाले अत्यधिक चिसो बढ्ने छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति देशभर बदली हुने छ । शुक्रबार प्रदेश १ र प्रदेश २ मा सामान्य बदली तथा देशका अन्य भूभागमा आंशिक बदली रहने छ । शुक्रबार राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश १ मा सामान्य बदली रही देशका अन्य भूभागमा आंशिक बदली रहने छ । प्रदेश १ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ ।

यसैगरी माघ १ गते प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशमा आंशिक बदली रहने छ । प्रदेश १ र बागमती प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना समेत छ । प्रदेश १ र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

माघ १ गते राति प्रदेश १ र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशमा आंशिक बदली रहने महाशाखाले जारी गरेको मौसमी बुलेटिनमा उल्लेख छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स