24.3 C
Kathmandu
Tuesday, August 12, 2025
spot_img

लुक्लामा १० दिनदेखि हवाई उडान ठप्प, पर्यटक मर्कामा

सोलुखुम्बु । मौसम प्रतिकूलताका कारण यहाँस्थित तेन्जिङ हिलारी विमानस्थल लुक्लामा हवाई उडान ठप्प हुँदा पर्यटक समस्यामा परेका छन् । गत जेठ २६ गतेदेखि अतिव्यस्त सो विमानस्थलमा कुनै पनि जहाजले उडान भर्न नसक्दा खुम्बु भ्रमणमा आएका पर्यटक मर्कामा परेका हुन् ।
अत्यधिक हुस्सु र ‘भिजिबिलिटी’ कमजोर हुँदा लुक्लामा जहाज र हेलिकप्टरले उडान भर्न नसकेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका एयर ट्राफिक कन्ट्रोलर दिवस दाहालले जानकारी दिए ।

लुक्ला विमानस्थलमा मौसमका कारण हेलिकप्टरसमेत अवतरण हुन नसक्दा लुक्लाभन्दा तल रहेको सुर्के हेलिप्याडबाट हेलिकप्टरहरूले उडान गरिरहेको एयर ट्राफिक कन्ट्रोलर दाहालले जानकारी दिए ।

सुर्के केही होचो स्थान भएकाले त्यहाँबाट हेलिकप्टरले पर्यटक काठमाडौं लैजाने गरेको उनले बताए । भौगोलिक बनावटका कारण पनि लुक्लामा बढी हुस्सु लाग्ने भएकाले उडानमा समस्या हुने गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ ।

लुक्लाभन्दा तल करिब चार घण्टाको पैदल दूरीमा पर्ने थामडाँडासम्म गाडी पुग्ने गर्छ । यसका कारण कतिपय पर्यटक तीनदेखि चार घण्टाको पैदल हिँडेर थामडाँडा झरेर त्यहाँबाट गाडीमार्फत सदरमुकाम सल्लेरी हुँदै काठमाडौँ फर्कने गरेका छन् ।

थामडाँडाबाट सल्लेरीको दूरी करिब ७० किलोमिटर छ । उक्त सडक कच्ची भएकाले बोलेरो गाडीमात्रै सञ्चालन हुने गरेको छ ।थामडाँडाबाट आएको दिन सल्लेरी बास बस्ने पर्यटक भोलिपल्ट विमान, जिप तथा बसमार्फत काठमाडौं फर्कने गरेका छन् । सल्लेरीबाट दुई सय ७५ किलोमिटरको दूरीमा पर्ने काठमाडौँको जिपभाडा प्रतिव्यक्ति दुई हजार लिने गरेका छन् ।

छैन मौसममा सुधारको सङ्केत
मौसम तत्काल खुल्ने सम्भावना नरहेकाले हवाई उडान अझै केही दिन अवरुद्ध हुने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । पूर्वको कोशीमा भित्रिएको मनसुन निरन्तर सक्रिय भइरहेकाले कोशीसहितका क्षेत्रमा झरीको सम्भावना उच्च रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स