22.7 C
Kathmandu
Wednesday, August 13, 2025
spot_img

मंसिर ४ गते चुनाव गर्ने सरकारकाे निर्णय

काठमाडौं । सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव गर्ने निर्णय गरेको छ। आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले मंसिर ४ गते आइतबार देशभरि एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव गर्ने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँचदलीय सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले मंसिर ४ गते निर्वाचन गर्ने सहमति गर्नुका साथै आज चुनावको मिति घोषणा गर्न सरकारलाई सुझाएको थियो।

निर्वाचन आयोगले एक महिनाअघि मंसिर २ गते चुनाव गर्न सकिने सुझाव सरकारलाई दिएको थियो। आयोगले कम्तीमा १२० दिनको निर्वाचन अवधि राखेर कार्यतालिकासहित निर्वाचन मिति तोक्न सिफारिस गरे पनि सरकारले १०७ दिनको अवधि राखेर निर्वाचन मिति तोकेको हो।

२०७४ सालमा संघीय र प्रदेशसभाको चुनाव दुई चरणमा गरिएको थियो। सोही वर्ष सरकारले स्थानीय चुनाव तीन चरणमा गरेको थियो। यसपालिको स्थानीय चुनाव भने गत वैशाख ३० मा एकै चरणमा सम्पन्न भइसकेको छ।

अब मंसिर ४ गते प्रतिनिधिसभाका लागि १६५ निर्वाचन क्षेत्र र सात प्रदेशका ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फका सांसद चयनका लागि एकै चरणमा चुनाव हुनेछ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स