21.5 C
Kathmandu
Thursday, August 14, 2025
spot_img

कास्कीमा एक दिनमै ३२२.८ मिलिमिटर वर्षा, चितवन, सुनसरी र झापामा पनि खतराको संकेत

काठमाडौं । मौसम बदली भई देशभर पानी परिरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार केही ठाउँमा वर्षाले खतराको तह पार गरेको छ ।देशका विभिन्न चार ठाउँमा खतराको तहभन्दा धेरै पानी परेको छ । विभागको मापन अनुसार कास्की, सुनसरी, चितवन र झापामा भारी वर्षा भएको छ ।

पछिल्लो २४ घण्टामा कास्कीको लामपाटनमा सबैभन्दा धेरै ३२२.८ मिलिमिटर वर्षा मापन भएको छ । यहाँ १२ घण्टामै ३१३ मिलिमिटर पानी परेको विभागले जनाएको छ । जबकि २४ घण्टामा १४० मिलिमिटर र १२ घण्टामा १२० मिलिमिटरभन्दा धेरै पानी पर्नुलाई खतरा मानिन्छ ।

कास्कीका साथै चितवनको शक्तिखोरमा २४ घण्टामा १९५.६ र १२ घण्टामा १८२.६ मिलिमिटर, इटहरीको तरहरामा २४ घण्टामा १७२ मिलिमिटर र झापाको दमकमा १२ घण्टामा १२०.४ मिलिमिटर वर्षा मापन भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहानैदेखि देशका धेरै ठाउँमा सामान्यदेखि मध्य वर्षा भइरहेको छ । आज दिउँसो पनि देशभर मौसम बदली भई वर्षा जारी रहने छ भने केही ठाउँमा भारी वर्षा हुने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना छ । भारी वर्षाका कारण बाढीपहिरोको जोखिम रहेको र केही ठाउँमा चट्याङसहित वर्षा हुने भएकोले सतर्क रहन महाशाखाले सूचना जारी गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स