बनेपा। काभ्रेको नमोबुद्ध नगरपालिकाले एक आर्थिक वर्षमा पाँच सयवटा योजनाको काम सम्पन्न गरेको छ । नगरपालिकाले गत आर्थिक वर्ष २०७७/०७८ मा अघि बढाएको ५९९ वटा योजनामध्ये ५०२ वटा योजना सम्पन्न गरेको जनाएको छ ।
नगरपालिकका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले गत आवमा विनियोजन गरिएको ७४ करोड ३१ लाख २८ हजार २७० रुपियाँमध्ये ८४ दशमलव ६९ प्रतिशत अर्थात् ६२ करोड ९४ लाख १४ हजार ८७२ रुपियाँ खर्च भएको जानकारी दिनुभयो ।
उहाँले कोरोना सङ्क्रमणका कारण सङ्घीय सरकार र प्रदेश सरकारबाट प्राप्त योजनाका लागि विनियोजन भएको बजेट खर्च नभएको बताउनुभयो । वडागत रूपमा २७० वटा योजनामध्ये २२४ वटा योजना सम्पन्न भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका ११ वटामध्ये वडा नं. ४ मा २४ वटा योजना रहेकोमा सबै योजना सम्पन्न भएका हुन् ।
यसैगरी नगरपालिकाले गत आवमा छ करोड रुपियाँ राजस्व सङ्कलनको अनुमान गरेकोमा चार करोड १४ लाख २६ हजार ४८८ रुपियाँ राजस्व सङ्कलन गरेको हो । कोभिड–१९ का कारण कतिपय क्षेत्रमा राजस्व छुट दिनुपरेको लगायतका कारण अनुमानभन्दा कम राजस्व सङ्कलन भएको नगरपालिकाले जनाएको छ ।
गत आवमा चार हजार मिटर पक्की ड्रेन, चारवटा कल्भर्ट, सात हजार मिटर सडक ग्राबेल र छ सय मिटर सडक कालोपत्रे गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका प्रमुख टीपी शर्मा तिमल्सिनाले निर्वाचित भएर आएको अन्तिम वर्षमा आइपुग्दा जनअपेक्षाअनुसार धेरै हदसम्म पूर्वाधारको विकासको काम भएको बताउनुभयो ।
उहाँले नगरपालिकाले पाँच वर्षे, दस वर्षे र पन्ध्र वर्षे रणनीतिक योजना निर्माण गर्दै समृद्ध नगरको अभियानलाई अघि बढाइएको जानकारी दिनुभयो ।