काठमाडौँ । विपद् भनेको केवल आएको बेला सम्झिनुपर्ने होइन, त्यसको सामना गर्न चाहिने तयारी पहिल्यै गर्नुपर्ने हो भन्ने सन्देश दिन काठमाडौँ महानगर प्रहरी बलले एक अनौठो प्रदर्शन आयोजना गर्यो। जोखिम व्यवस्थापनका लागि प्रयोग हुने अत्याधुनिक उपकरणहरू प्रदर्शन गर्दै महानगर प्रहरी बलले सजग समुदाय, सुरक्षित शहर भन्ने धारणा स्थापित गर्ने प्रयास गरेको हो।
प्रदर्शनीमा जलजन्य विपद्, आगलागी, भवन ढल्दा उद्धार, सडक दुर्घटना र डोरीबाट गरिने जटिल उद्धारमा प्रयोग हुने उपकरणहरू प्रस्तुत गरिए। हाइड्रोलिक कटर, स्प्रेडर, कम्बी टुल्स, पोर्टेबल पम्पदेखि लिएर ¥याफ्टिङ बोट, सर्चलाइट, र अत्यधिक ताप सहने सुरक्षात्मक पोशाकसमेत समावेश थिए।
यो प्रदर्शनी केवल उपकरण देखाउने कार्यक्रम मात्र थिएन, बरु साझा प्रयास र समन्वयको सन्देश बोकेको अभ्यास थियो। विपद् व्यवस्थापनको सफलतामा प्रहरी मात्र होइन – स्थानीय सरकार, संघसंस्था, र सबै समुदायको सक्रिय सहकार्य अपरिहार्य हुने भन्दै, प्रहरी स्रोतहरूलाई मात्र होइन, नागरिकहरुलाई पनि जानकारी दिन यो पहल गरिएको थियो।
विशेषगरी धेरै तले भवनबाट उद्धार गर्ने उपकरणदेखि लिएर धुँवामा प्रयोग गरिने सेफ्टी उपकरणसम्मको प्रयोगसम्बन्धी जानकारीले प्रदर्शनीमा उपस्थित जनतालाई नयाँ अनुभव प्रदान गर्यो। यस्ता सामग्रीहरूको प्रयोगबारे जनचेतना बढाउनु, जोखिम स्थितिमा नागरिकको भूमिका प्रस्ट पार्नु, र भविष्यको संकटलाई न्यूनीकरण गर्नु नै यस अभ्यासको मूल उद्देश्य थियो।