ललितपुर l ललितपुर, पाटन दरबार क्षेत्रमा पर्यटकको सुविधालाई मध्यनजर गर्दै निर्माण गरिएको अत्याधुनिक सार्वजनिक शौचालय आइतबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ।
नगर प्रमुख चिरीबाबु महर्जनले एक कार्यक्रमबीच शौचालयको उद्घाटन गर्दै भने, “शहरको मौलिकता झल्कने गरी निर्माण गरिएको यो शौचालयले अब आन्तरिक र बाह्य पर्यटकलाई सहज बनाउनेछ।” उनले निर्माण प्रक्रियामा केही ढिलाइ भए पनि महानगरले अन्ततः सुविधा सम्पन्न शौचालय तयार गरेकोमा खुसी व्यक्त गरे।
शौचालयमा पुरुषका लागि ६ युरिनल र ३ शौचालय, महिलाका लागि ६ शौचालय, अपांगता मैत्री शौचालय र स्तनपान कक्ष जडान गरिएको छ। अत्याधुनिक स्यानिटरी उपकरणसहितको यो संरचना विशेषगरी अपांगता भएका व्यक्तिहरूलाई समेत सजिलो बनाउने गरी डिजाइन गरिएको छ।
संस्कृति पर्यटन मन्त्रालयका सचिव बिनोद प्रकाश सिंहले शौचालयले पाटन दरबार क्षेत्रमा पर्यटकलाई सहजता दिएको भन्दै यसको पुरातात्विक मौलिकता जोगाइनुलाई महत्वपूर्ण बताए। प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठले शौचालयको डिजाइन ऐतिहासिक महत्वलाई ध्यानमा राखेर तयार पारिएको जानकारी दिइन्।
महानगर प्रवक्ता राजु महर्जनले सार्वजनिक शौचालय पूर्वाधारको महत्त्वपूर्ण अङ्ग भएको भन्दै ललितपुरका २९ वटै वडामा क्रमशः यस्ता सुविधा विस्तार गरिने बताए। पूर्वाधार महाशाखा प्रमुख प्रदीप पौडेलका अनुसार पब्लिक स्यानिटेसन सुधारका लागि यो परियोजना नमुना बन्नेछ।
शौचालय झिंगटी टायल र दुई पाखे छानाले सजाइएको छ। कुल लागत रु. १ करोड २६ लाख रहेको यो परियोजना आधुनिकता र सम्पदाको समिश्रणको उदाहरणका रूपमा अगाडि आएको छ।
पाटन दरबार क्षेत्रमा सार्वजनिक शौचालयको अभाव लामो समयदेखि महसुस भइरहेकोमा यो निर्माणले त्यो खाली ठाउँलाई भरिदिएको छ। महानगरले आगामी दिनमा आवश्यकताअनुसार अन्य क्षेत्रमा पनि यस्ता शौचालय विस्तार गर्ने योजना बनाएको छ।