गुल्मी । स्वास्थ्यको क्षेत्रमा सञ्चालित विभिन्न कार्यक्रमहरुको मूल्याङ्कनका आधारमा गुल्मीको रुरुक्षेत्र गाउँपालिका प्रथम भएको छ । आर्थिक वर्ष २०८०/०८१ को स्वास्थ्य कार्यक्रमहरुको वार्षिक प्रगतिको मुख्य सूचकहरुको मूल्याङ्कनको आधारमा दुई नगरपालिका र दश गाउँपालिकामध्ये रुरुक्षेत्र गाउँपालिका ७१.८२ नम्बर प्राप्त गर्दै जिल्लामा पहिलो बनेको हो ।
कार्यक्रमहरुको मूल्याङ्कनका आधारमा यहाँको सत्यवती गाउँपालिका ७१.१९ अंङ्कसहित दोस्रो र छत्रकोट गाउँपालिका ७०.४९ लिएर तृतीय भएको स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत पशुपति आचार्यले जानकारी दिनुभयो । स्वास्थ्य कार्यालयको आयोजना तथा रेसुङ्गा नगरपालिकाको आतिथ्यतामा गत आव २०८०/०८१ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको जिल्लास्तरीय वार्षिक समिक्षा गोष्ठीमा उत्कृष्ट भएका तीन पालिकाहरुलाई प्रमाणपत्रद्वारा सम्मान गरिएको हो ।
१२ वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखहरुले वर्षभरीमा आफ्नो पालिकाबाट भएका स्वास्थ्य सम्बन्धि गतिविधि प्रस्तुत गर्नुभयो । सहभागीहरुले जिल्लामा वर्थिङ्ग सेन्टर संख्यात्मक रुपमा धेरै रहे पनि गुणात्मक परिणाम आउन नसकेको बताउनुभयो । सहभागीको तर्फबाट बोल्दै गुल्मीदरबार गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण अर्यालले वर्थिङ्ग सेन्टरहरुमा गुणात्मक रुपमा परिणाम आउने गरी काम गर्न आवश्यक देखिएको बताउनुभयो ।
हाम्रै वर्थिङ्ग सेन्टरहरुमा गुणात्मक रुपमा प्रसुति हुन सकेको छैन् । कतै वर्थिङ्ग सेन्टरमा आम नागरिकहरुको विश्वास भएनकी, उहाँले भन्नुभयो, प्रत्येक पालिकामा एउटा राम्रो वर्थिङ्ग सेन्टर बनाउन सक्नुपर्छ । अन्य वर्थिङ्ग सेन्टरलाई इकाईका रुपमा बनाउनेतर्फ अग्रसर हुनुपर्छ । किशोरीहरुमा भएको रक्तअल्पता यस जिल्लामा लागि चुनौतीको विषय भएको उल्लेख गर्नुभयो । यसको समाधानका लागि यथाशीघ्र योजना अगाडि सारेर कार्यान्वयनमा जान आवश्यक रहेको बताउनुभयो ।
स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका फोकल पर्सन कुमार थापाले दुई दिने समिक्षा कार्यक्रममा उठेका विषयहरुलाई प्रदेशमा आवश्यक सहजीकरणका लागि छलफल गर्ने बताउनुभयो । जिल्ला समन्वय समिति प्रमुख द्रोण खत्रीले समिक्षा बैठकमा गहन ढंगले जिल्लामा सञ्चालन गरिएका स्वास्थ्यका क्रियाकलापहरुको समिक्षा गरिएको भन्दै स्वास्थ्यका सूचकहरुमा राम्रो हुँदै गएको बताउनुभयो । गुल्मीको स्वास्थ्यको अवस्था राम्रो बनाउन सबै पालिका लाग्नुपर्ने बताउनुभयो ।
त्यस अवसरमा स्वास्थ्य कार्यालयले उत्कृष्ट कर्मचारीको रुपमा जनस्वास्थ्य अधिकृत पशुपति आचार्यलाई सम्मान समेत गरेको छ । स्वास्थ्यको क्षेत्रमा जिल्लाको वास्तविक अवस्थाको पहिचान गर्न, नमुना कार्यको अनुसरण गर्न, स्वास्थ्यमा रहेका समस्याको पहिचान गर्न, समस्याको समाधानका लागि सामुहिक पहल गर्न र आगामी दिनका कार्यक्रममा सुदृढीकरण गरेर अगाडि बढ्न सहयोग पुग्ने कार्यालय प्रमुख पुष्पा थापाले बताउनुभयो ।