हुम्ला । सडक निर्माण सम्पन्न भए पनि हुम्लाको खार्पुनाथ गाउँपालिकामा यातायातका साधन सञ्चालनमा आउन सकेको छैन । खार्पुनाथ गाउँपालिका– ४ को वडा कार्यालय जोड्ने कच्ची सडक निर्माण भए पनि कर्णाली नदीमा पुल निर्माण नभएको कारण यातायातका साधन सञ्चालनमा आउन नसकेको हो ।
गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले गाउँपालिकाको सबै वडामा सडक सञ्जाल जोड्ने प्रतिबद्धता अनुसार तुम्लिङ देखि नल्नको विद्यालयसम्म सडक निर्माण कार्य पुरा भएको भए पनि हालसम्म यातायातका साधन सञ्चालनमा ल्याउन नसकिएको स्वीकार गर्नुभयो । गत वैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्माणमा पनि उहाँले सबै वडा केन्द्रमा सडक सञ्जाल जोड्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । उहाँले गाउँपालिका केन्द्र याङ्चुु बजार जोड्ने तुम्लिङमा पुर्बाधार विकास कार्यालयबाट पक्की पुल निर्माणका लागि टेन्डर आव्हान गर्दा गाउँपालिकाले सडक निर्माण कार्य सुरु गरेको तर हालसम्म सो पुल निर्माणको कार्य अगाडी नबढ्दा निर्माण भएको सडकमा गाडी सञ्चालनमा आउन नसकेको बताउनुभयो ।
निर्माण भएको सडकमा यातायातका साधन सञ्चालन हुन नसक्नुमा मुख्यगरि पुर्बाधार विकास कार्यालय दोषी रहेको बताउँदै उहाँले पुल निर्माणका लागि भएको टेन्डरबाट छनौट भएको कम्पनीसँग सम्झौता गर्न ताकेता गर्दा कुनै सुनुवाइ हुन नसकेको बताउनुभयो । सो सडकले वडाका चार वडा बस्तीलाई छोएको छ । यसबाट दश किलो मिटर सडक निर्माण भएर यातायातका साधन सञ्चालन हुन सक्ने छन् ।
अध्यक्ष रावलले पुल निर्माण ढिलाइ हुँदै गए अब कर्णाली नदीमा डोजरबाट गाडी तारेर भए पनि सडक सञ्चालनमा ल्याउन सोचाइमा गाउँपालिका रहेको बताउनुभयो । यस सम्बन्धमा पुर्बाधार विकास कार्यालयले टेन्डर प्रक्रिया तीन पटक सूचना जारी गर्नु परेको कारण पुल निर्माणमा ढिलाइ भएको जनाएको छ ।
टेन्डरबाट निर्माण कम्पनी छनौट भई सकेको र अब चाँडै सम्झौता गरेर निर्माण कार्य अगाडी बढाउने कार्यालयले दाबी गरेपछि सो कार्य अगाडी नबढेको पाइएको हो । उक्त पुल निर्माणका लागि दुई वर्ष अगाडीदेखि टेन्डर निकाल्ने कार्य भएको थियो ।