26.7 C
Kathmandu
Friday, August 15, 2025
spot_img

मलङ्गवा नगरपालिकाको ‘नगर गान’ सार्वजनिक

सर्लाही । सर्लाहीको सदरमुकाम मलङ्गवा नगरपालिकाले आफ्नै ‘नगर गान’ तयार पारेको छ । देशभरमा सबैभन्दा धेरै २० वटा स्थानीय तह रहेको सर्लाहीमा पहिलो पटक मलङ्गवा नगरपालिकाले ‘हाम्रो मलङ्गवा, प्यारो मलङ्गवा’ बोलको आफ्नै नगर गान तयार पारेको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमले कार्यपालिका बैठकबाट नगर गान स्वीकृत भई सार्वजनिक गरिएको जानकारी दिनुभयो । उहाँले अब नगरपालिका, विद्यालय र औपचारिक कार्यक्रममा नगर गानको प्रयोग गरिने बताउनुभएको छ । राष्ट्रिय गान बज्ने हरेक कार्यक्रममा सँगै नगर गान पनि बजाइने मलङ्गवा नगरपालिकाले जनाएको छ ।

“नगर र नगर मातहतका कार्यालयले आयोजना गर्ने औपचारिक कार्यक्रम तथा विद्यालयमा विद्यार्थीले प्रार्थना गर्दा राष्ट्रिय गानसँगै नगर गान प्रयोग गछौँ,” प्रमुख प्रशासकीय अधिकृत गौतमले गोरखापत्रसँग भन्नुभयो, “नगर गानलाई सन्देशमूलक बनाएका छौँ, यसले सबैलाई सकारात्मक ऊर्जा दिन्छ भन्ने विश्वास छ ।” प्रमुख प्रशासकीय अधिकृत गौतमकै शब्द सन्तोष कर्णको सङ्गीतमा तयार पारिएको नगर गानमा सन्तोष कर्ण र श्रेया नेपालले स्वार दिनुभएको छ ।

नगर गानमा मलङ्गवाको चिनारी झल्किने विभिन्न मठमन्दिर, पोखरी, कृषि, पशुपालन, माछापालन, व्यापार लगायतको चर्चा गरिएको छ । मलङ्गवा नगरपालिकाका प्रमुख नागेन्द्र प्रसाद यादवले नगरभित्रका पुरातात्त्विक तथा ऐतिहासिक स्थलको प्रचारप्रसार र सम्पूर्ण नगरवासीको आफ्नो भूमिप्रति माया बढोस् भन्ने उद्देश्यले नगर गान तयार पारिएको बताउनुभयो ।

नगरप्रमुख यादवका अनुसार कार्यपालिका बैठकले नगर गानलाई बज्जिका लगायतका स्थानीय भाषामा रूपान्तरण गरी तयार गर्दै जाने निर्णय गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स