काठमाडौं । टोखा नगरपालिकामा आवधिक नगर विकास योजना तर्जुमा कार्यशाला गोष्ठी सम्पन्न भएको छ । टोखा नगरपालिकाको आयोजना र स्कोलर नेपाल, श्रेष्ठ नेक्स्ट जे. भि. काठमाडौको सहकार्यमा उक्त कार्यशाला गोष्ठी सम्पन्न भएको हो
तिन दिन सम्म चलेको उक्त गोष्ठिमा पूर्वाधार विकास, सामाजिक विकास, आर्थिक विकास, शिक्षा, स्वास्थ्य, सम्पदा तथा संस्कृति संरक्षण, महिला, बालबालिका, ज्येष्ठ नागरिक, वातावरण संरक्षण, कृषि, खेलकूद लगायतका क्षेत्रलाई समावेश गरेर योजना तर्जुमा गरिएको छ ।
नगरबासीलाई प्रत्यक्ष राहत पुग्ने खालका योजना तथा कार्यक्रमहरुलाई प्राथमिकता दिइएको बताउदै नगरप्रमुख प्रकाश अधिकारीले नगरपालिकाको समग्र विकास र समद्धिका लागि गर्नुपर्ने कार्यहरु र नगरले समेट्नुपर्ने योजना तथा कार्यक्रमहरुलाई समावेश गरेर आवधिक नगर विकास योजना तयार पारिएको जानकारि दिनुभयो । यस्तै छलफलका क्रममा बोल्दै मेयर अधिकारिले नगरमा सञ्चालन भएका विभिन्न योजनाहरुकमो बारेमा जानकारि गराउनुभयो । साथै कार्यशाला गोष्ठी उपलब्धिमुलक भएको बताउनुभयो ।
कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शंकरराज पाठकले नगरपालिकाले प्राथमिकता दिएका क्षेत्रहरु लगायत समग्र कार्यक्रमका बारेमा जानकारी गराउनुहुदै नगरपालिकाले नगरबासीलाई प्रत्यक्ष राहत पुग्ने खालका योजना तथा कार्यक्रमहरुलाई समेट्ने गरी सबै जनप्रतिनिधिहरु र सरोकारवालाहरुसंग छलफल गरि आवधिक योजना निर्माण गरिएको बताउनुभयो । कार्यक्रममा छलफल गर्दैै उहाँले नगरपालिकालाई बालमैत्री नगर बनाउने, सेवा प्रवाहलाई छिटो, छरितो र प्रभावकारी बनाउने लगायतका कुराहरुलाई आवधिक योजनामा समेटिएको बताउनुभयो ।
कार्यशाला गोष्ठी कार्यक्रममा टोखा नगरपालिकाका वडा अध्यक्षहरु, नगर कार्यपालिका सदस्यहरु, नगर सभा सदस्यहरु, कानूनी सल्लाहकारहरु, न्यायिक समितिका पदाधिकारीहरु, नगरपालिकाका विभिन्न शाखाका प्रमुखहरु लगायत कर्मचारीहरु र परामर्शदाताहरुको सहभागिता रहेको थियो । आवधिक नगर विकास योजना तर्जुमा सम्बन्धी सो कार्यशाला गोष्ठीले नगरको समग्र विकासमा टेवा पुग्ने अपेक्षा राखिएको छ ।