रूकुम । रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा कार्यरत करार शिक्षकहरूले आठ महिनादेखिको तलब पाएका छैनन्। गाउँपालिकाले करार सेवामा कार्यरत शिक्षकहरूलाई २०७९ माघदेखि तलब नदिइएको गाउँपालिका करार शिक्षक समितिले जनाएको छ।
गाउँपालिकामा ११४ जना शिक्षक करार सेवामा कार्यरत छन्। शिक्षकहरुले आठ महिनासम्म तलब नपाउँदा गाउँपालिका र सम्बन्धित शाखामा बारम्बार मौखिक रूपमा माग गर्दा समेत बेवास्ता गरिएको गाउँपालिका करार शिक्षक समितिका अध्यक्ष हर्कप्रसाद खड्काले बताए। बुधबार समितिले विज्ञप्ती जारी गर्दै भदौ १० गतेभित्र करार शिक्षकहरूको तलब उपलब्ध नगराए संघर्षका कार्यक्रम गर्ने बताएका छन्।
‘पटकपटक सम्बन्धित निकायलाई मौखिक जानकारी गराउँदा झुटो आश्वासन मात्र दिने गरेको छ, पाउनुपर्ने सेवासुविधा शिक्षकहरुले नपाउँदा घरखर्च चलाउन समेत समस्या पर्ने गरेको छ,’ विज्ञप्तीमा भनिएको छ, ‘भदौ १० गतेभित्र गाउँपालिका भित्रका सम्पूर्ण करार शिक्षकहरूको पारिश्रमिक नदिए र सम्झौता नविकरण नगरे हदैसम्मको संघर्षका कार्यक्रम गर्नेछौं।’
पुथा उत्तरगंगा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत समीर गिरीले गत आर्थिक बर्षको बजेट पारित भइसकेपछि केही करार शिक्षक भर्ना गरिएकोले तलब दिन समस्या भएको बताए। ‘बजेट पारित भईसकेपछि करार शिक्षकहरुको भर्ना खोलिएको रहेछ, अख्तियारी पाएको बजेटबाट माघसम्मको तलब दिइएको छ,’ उनले भने, ‘बाँकी तलब यो बर्षको असारसम्मको तलब अर्को अख्तियारी आएपछि दिने कुरा छ।’
पहिले गाउँपालिकामा शिक्षकको आवश्यकता यकीन नगरी भर्ना गरिएकाले अर्को समस्या भएको गिरीले बताए। पछिल्लो समय कार्यपालिकाको बैठक नबसेकाले करार शिक्षकहरूको असार पछिको सम्झौता पनि नभएको उनले बताए। करार शिक्षकहरूको नयाँ सम्झौता कार्य सम्पादन मूल्यांकनका आधारमा गरिने उनले बताए।