22.6 C
Kathmandu
Thursday, August 14, 2025
spot_img

१० दिनमा सबै पाठ्यपुस्तक छापिसक्छौं : जनक शिक्षा सामग्री केन्द्र

काठमाडौं । जनक शिक्षा सामग्री केन्द्रमा पाठ्यपुस्तकको माग अझै घटेको छैन । देशका विभिन्न ठाउँबाट पुस्तकको अभाव भएको भन्दै विभिन्न्न विद्यालयबाट पुस्तकको माग आउनेगरेको जनक शिक्षा सामग्री केन्द्रका सूचना अधिकारी चित्रबहादुर आचार्यले बताउनुभयो । अबको १० दिनमा सबै पाठ्यपुस्तक छापिसक्ने केन्द्रले जनाएको छ ।

शैक्षिकसत्र सुरु भएको दुई महिना बिते पनि जनक शिक्षा सामग्री केन्द्रमा पुस्तकको माग आउने गरेको छ । सामग्री केन्द्रले गतसालभन्दा बढी पाठ्यपुस्तक छापेर पठाए पनि अझै माग रहेको आचार्यले बताउनुभयो । ‘हामीले गतसालभन्दा धेरै पुस्तक छापेर पठाइसकेका छौँ । तर, अझै पनि देशका विभिन्न ठाउँबाट पुस्तकको माग रहेको छ’ आचार्यले भन्नुभयो ।

विद्यार्थीको भर्ना संख्या बढेको र सामुदायिक विद्यालयमा पढाइ हुने पुस्तकहरु निजी विद्यालयले पनि प्रयोग गरेको हुँदा माग बढी देखिएको छ ।
सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्ला, सुर्खेत, जनकपुर, विराटनगर, चितवनलगायतका जिल्लाबाट अझै पुस्तकको माग आएको उहाँले बताउनुभयो । अहिले दैनिक एक हजारदेखि ६० हजार थानसम्म माग आउने गरेको छ । आचार्यले भन्नुभयो, ‘अहिले फेरि पुस्तकको माग बढेको देखिएको छ ।’

यसरी पुस्तकको माग एक्कासी किन बढ्यो भन्ने विषयमा सामग्री केन्द्रले अध्ययन पनि गरिरहेको आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यसरी एक्कासी फेरि यति धेरै पुस्तकको माग किन बढ्यो भन्ने विषयमा सामग्री केन्द्रले अध्ययन गरिरहेको छ ।’ आचार्यका अनुसार विद्यार्थीको भर्ना सङ्ख्या बढेको र सामुदायिक विद्यालयमा पढाइ हुने पुस्तकहरु निजी विद्यालयले पनि प्रयोग गरेको हुँदा माग बढी देखिएको छ । अहिले जनक शिक्षा सामग्री केन्द्रमा दुई वटा मेसिनले पाठ्यपुस्तक छापिरहेको छ । अब तीन वटा नयाँ मेसिन खरिद गर्ने सामग्री केन्द्रको तयारी छ ।

प्रतिनिधि तथा प्रदेश सभाको चुनावका लागि मतपत्र छाप्ने समय अगावै पुस्तक छापेर सक्ने योजनामा केन्द्र लागेको छ । अबको एक महिनामा थप तीन वटा मेसिन खरिद गरेर आगामी सालका लागि फागुन अन्तिम हप्तासम्म पाठ्यपुस्तक छापेर चैतमा सबै ठाउँमा पुर्‍याइने आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले दुई वटा मेसिनले मात्र पाठ्यपुस्तक छापिरहेको छ । तीन वटा मेसिन खरिदको प्रक्रिया छ । अबको एक महिनाभित्रमा ती मेसिन आएपछि आगामी वर्षका लागि फागुनमा छपाइ सकेर चैतमा सबै क्षेत्रमा पुर्‍याइसक्छौँ ।’

१० दिनभित्र पुस्तक छापिसक्ने
जनक शिक्षा सामग्री केन्द्रमा अहिले आइरहेको पाठ्यपुस्तकको माग अबको १० दिनमा छापेर सकिने केन्द्रका सूचना अधिकारी चित्रबहादुर आचार्यले बताउनुभयो । अहिले छापिरहेको मेसिन पुरानो र कम क्षमताको भएका कारण पुस्तकको छपाइ पनि केही ढिला भएको उहाँले स्वीकार्नुभयो । आचार्यले भन्नुभयो, ‘अबको १० दिनमा माग भए बमोजिमको पुस्तक छापेर सक्छौँ, हाल सञ्चालनमा रहेका दुई वटा मेसिन पुरानो र कम क्षमताका रहेका कारण पुस्तक छपाइमा केही समस्या भएको छ ।’

केही जिल्लामा पठाइएको पुस्तक बीचबाटोबाटै अन्य जिल्लामा पठाइएकाले पनि सुदूरपश्चिम जिल्लामा पुस्तक अहिलेसम्म नपुगेको गुनासो आउनेगरेको उहाँको भनाइ छ । अहिले सुदूरपश्चिम प्रदेशमा १० ट्रक पुस्तक पठाइएको उहाँले बताउनुभयो । विशेषगरी अहिले अङ्ग्रेजी, नेपाली र सामाजिक शिक्षा पुस्तकको माग बढी आएको आचार्यले बताउनुभयो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स