29 C
Kathmandu
Tuesday, August 12, 2025
spot_img

त्रिविको प्रश्नपत्र हुबहु प्रकरणको छानबिन गर्न नेविसंघको माग

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले त्रिभुवन विश्वविद्यालयको विभिन्न विषयको परीक्षामा प्रश्नपत्र हुबहु दोहोरिएको विषयमा छानबिनको माग गरेको छ । नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै पटकपटक प्रश्नपत्र हुबहु दोहरिँदा परीक्षाको विश्वसनीयता र वैधानिकतामाथि प्रश्न उठेको भन्दै छानबिन गर्न माग गरेका हुन् ।

निजी कलेजका प्रश्नपत्रसँग हुबहु हुनुले विश्वविद्यालयको लापरबाही, गैरजिम्मेवारी मात्रै नभइ शंकास्पद व्यवहार देखिएको नेविसंघको ठहर छ। उनका अनुसार असार २२ गतेमात्रै बीबीए छैटौं सेमेस्टरको ‘एमजीटी २०३ स् अर्गनाइजेसन बिहाभियर’को प्रश्नपत्र मोर्डन कलेजको ‘प्रिबोर्ड’ परीक्षाको प्रश्नसँग हुबहु मिलेको थियो ।

शनिबारमात्रै त्रिविको बीबीए छैटौँ सेमेस्टरको ‘नेप्लिज सोसाइटी एण्ड पालिटिक्स’ विषयको प्रश्नपत्र पाँचौं सेमेस्टरको सोसोलोजीको प्रश्नपत्रसँग मिलेको शर्माले बताए । यसअघि पनि जेठमा एमए तेस्रो सेमेस्टरको ‘पब्लिक इकोनोमिक्स’ र प्रथम सेमेस्टरको ‘इन्टरनेसनल पोलिटिक्स’ विषयको प्रश्नपत्र हुबहु दोहोरिएका थिए ।

उक्त घटनाको छानबिन गर्न गठित छानबिन समितिद्वारा तयार पारिएको प्रतिवेदन आजसम्म सार्वजनिक नगर्नु, दोषीलाई उम्काउने चलखेल गर्नु, पटकपटक परीक्षा प्रणालीको विश्वसनीयतामाथि प्रहार गरिरहनु, बिचौलिया र निजी कलेजसँग साँठगाँठ गरिरहनु, आदि घटनाले विश्वविद्यालयका पदाधिकारी तथा जिम्मेवार निकायहरू पतित भएको पुष्टि भैसकेको छ,’ नेविसंघले निकालेको विज्ञप्तिमा उल्लेख छ।

परीक्षाजस्तो संवेदनशील विषयमा लापरबाही भएकोले त्रिवि पदाधिकारीले राजीनामा दिनुपर्ने भन्दै शंकास्पद कार्यको छानबिन गरी दोषीलाई कारबाही नगरिए आन्दोलन गर्ने नेविसंघले चेतावनी समेत दिएको छ ।‘प्रश्नपत्र निर्माण तथा नियमन गर्ने निकायका जिम्मेवार व्यक्तिहरू तथा सम्पूर्ण विचौलियालाई कारबाहीको दायरामा नल्याएको खण्डमा त्रिविविरुद्धमा नेविसंघ आन्दोलनको आँधिबेहरी सिर्जना गरि जस्तोसुकै कदम पनि उठाउन बाध्य हुनेछ,’ विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स