29 C
Kathmandu
Tuesday, August 12, 2025
spot_img

कृषकको उत्पादन, गाउँपालिकाको बजारीकरण

तम्घास । यहाँको एक गाउँपालिकाले कृषकले उत्पादन गरेको कृषि उपजलाई बजारीकरणको व्यवस्था गरेको छ । रुरुक्षेत्र गाउँपालिकाले कृषकले उत्पादन गरेका कृषि उपजलाई सहज रुपमा बजारसम्म लैजाने र बिचमा हुने बिचौलीयाको चलखेललाई अन्त्य गर्नका लागि बजारीकरणको सुरुवात गरिएको जनाएको छ ।

कृषकले उत्पादन गरेको ताजा तरकारीलाई प्रत्येक हप्ताको मङ्गलबार कृषकसँग खरिद गरी सङ्कलन गर्ने र बजारीकरणका लागि पाल्पा पठाउने गरेको प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभयो । कृषकको उत्पादनलाई सहज रुपमा बजारीकरण गर्न सकेमा मात्र उहाँहरु आत्मनिर्भर बन्नुका साथै जीवनस्तरमा सुधार र उत्पादनमा पनि वृद्धि गर्न सक्ने भएकाले बजारीकरणको सुरुवात गरिएको उहाँको भनाइ छ ।

कृषकलाई व्यवसायीक रुपमा कृषि र पशुपालनमार्फत आत्म निर्भर बनाउन सक्ने भएकाले पालिकाले पहिलो प्राथमिकता दिएको पाण्डेले बताउनुभयो । युवाहरुलाई स्वदेशमानै टिकाइ राख्न र व्यवसायीक बनाउनका लागि पालिकाले योजना बनाएर अगाडि बढेको पाण्डेले बताउनुभयो ।

रुरुक्षेत्र गाउँपालिका चार रानीवासका कृषक थान प्रसाद श्रेष्ठ र वडा नम्बर ६ रिमुवाकी मीना पौडेलले आफूहरुले उत्पादन गरेका कृषि उपजले सहज रुपमा उचित मूल्य र बजार पाउँदा थप उत्साह थपेको बताउनुभयो । यस्तै, कार्यहरुहरु निरन्तरता दिन उहाँहरुले पालिकालाई आग्रहसमेत गर्नुभयो । उहाँहरुले आफूहरुले उत्पादनलाई बढाउँदै लैजाने र आर्थिक रुपमासमेत सम्पन्न हुने गरी अगाडि बढ्ने बताउनुभयो ।

गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक साथै प्राविधिक सहयोगमा नवप्रभात युवा संघद्वारा सञ्चालित रुरु कृषि परियोजना अन्तर्गत तरकारीको बजारीकरण सुरु गरिएको हो । कृषकको उत्पादनलाई सङ्कलन गरी पाल्पामा रहेको मिलनसार सामाजिक उद्यमी महिला सहकारीद्वारा सञ्चालित तरकारी थोक बजारमा पठाउने गरिएको परियोजनाका संयोजक प्रकाश चालिसेले जानकारी दिनुभयो । ताजा तरकारीकासाथै परियोजनाले बाख्रा, कुखुरा र दुधलगायतका क्षेत्रमा काम गरिरहेको उहाँले बताउनुभयो । पालिका भित्र ५८ वटा समूहहरु गठन गरी ताजा तरकारी, दुध र बाख्रा पालनमा आवद्ध गराएको उहाँको भनाइ छ । ५८ समूहमा करिव दुई हजार जना आवद्ध रहेको पालिकाले जनाएको छ ।

प्रतिक्रिया

हेडलाइन्स