सुर्खेत । हप्ता दिन अघि नै मौसमविद्हरूले कर्णाली र सुदूरपश्चिम प्रदेशबाट मनसुन बाहिरिएको बताएका थिए । तर, आइतबार र सोमबार कर्णालीका जिल्लाहरूमा वर्षासँगै असिनाले बालीनालीमा ठुलो क्षति पुगेको छ । घरमा भित्र्याउनै लाग्ने अवस्थाको धानबाली, कोदो, फलफूलदेखि तरकारी हावाहुरीसँगै परेको असिनापानीले सखाप पारेपछि किसान चिन्तित बनेका छन् ।
आइतबार साँझ परेको असिनापानीले पश्चिम दैलेखका ठाटीकाँध गाउँपालिका, आठबिस, चामुण्डाबिन्द्रासैनी नगरपालिका लगायतका क्षेत्रमा करोडौँको क्षति पुर्याएको छ ।
ठाटीकाँध गाउँपालिका–४, गैरागाउँका खम्ब बडुवाल असिनापानीले धानबाली नष्ट गरेपछि चिन्तित छन् । उनको खेतमा चारदेखि पाँच महिनासम्म भात खानपुग्ने धान उत्पादन हुन्थ्यो तर, असिनाले सबै नष्ट गरिदियो । ‘हेर्नुस्, असोज महिनामा यस्तो खालको विपद् कहिल्यै आएको थिएन, भकारी भर्ने बेलामा यस्तो पीडा आइलाग्यो,’ उनी भन्छन्, ‘भकारी रित्तै भएपछि अब हामीले खाने के रु छाक केले टार्ने भन्ने चिन्ता भयो ।’
उनीमात्र होइन, वडा नम्बर ३ र ४ का गरी करिब ६०० कृषकको बाली पूर्ण रूपमा नष्ट भएको छ । गैरागाउँ, छितालाख्ना, धनकोट, ज्यामिचौर, भेरिपाल्त र बाचपानीमा काट्नै लागेको धान बाली पूर्णरूपमा सखाप भएको छ ।
वडा नम्बर ४ का वडाध्यक्ष केहरसिंह कठायत आगामी वर्षका लागि बीउसमेत नरहने गरी बालीनाली नष्ट भएको बताउँछन् । उनको पनि १० पाथी बीउ रोपेको धानबाली पूर्णरुपमा सखाप भएको छ ।
‘गैरागाउँको जिउलाबाट उत्पादन हुने धानले केही कृषकलाई दुई÷चार महिना भात खानपुग्थ्यो भने धेरै जमिन भएका कृषकलाई वर्षभरि नै भात खान पुग्ने उत्पादन हुन्थ्यो,’ कठायतले रातोपाटीसँग भने, ‘असिनाले सबै बाली सखाप पारेपछि छाक केले टार्ने भन्ने चिन्ता गाउँमा छ ।’
गैरागाउँ, धनकोट लगायतका बस्ती पूर्ण रूपमा कृषिमा आश्रित छन् । लेकाली वातावरण भएकाले यहाँ कोदो, भटमास, आलु लगायतका तरकारी प्रशस्त उत्पादन हुन्छन् । साथै सुन्तला उत्पादनको हब मानिन्छ गैरागाउँ । असिनाले सबै नष्ट गरेपछि कृषकलाई रुनु न हाँस्नु भएको वडाध्यक्ष कठायत बताउँछन् ।
करोडौँको बालीनाली सखाप भए पनि यकिन तथ्याङ्क भने सङ्कलन हुन बाँकी छ । सोमबार पालिकाको विपद् शाखाको टोली, नेपाल प्रहरी, नेपाल रेडक्रस सोसाइटी, कृषि शाखासहितको टोलीले अनुगमन समेत गरेको छ ।
ठाटीकाँध गाउँपालिकाको विपद् शाखाका दीपक रावल असिनाले सबैजसो बाली नोक्सान भएको बताउँछन् । तथ्याङ्क सङ्कलनको काम भइरहेको र क्षतिबारे जिल्ला प्रशासन र प्रदेश सरकारलाई जानकारी गराइसकिएको उनको भनाइ छ ।
आठबिस नगरपालिकाको वडा नम्बर ९ को छेपाडी, पुर्छा, ७ को माथिल्लो भेग, ६ को सिंहासैन, ताउनी लम्धार, ५ को गोर्खी, सेखर्क, लयापातल, बाँजकाटियाँ लगायतमा पनि धानबाली नष्ट भएको छ । आठबिस–६ लम्धारका लक्ष्मण थापा भित्र्याउने बेलामा धानबाली नष्ट भएपछि तनावमा छन् । निराश हुँदै उनले भने, ‘बर्खाभरि बगाएको पसिना र दुःख क्षणभरमा खेर गयो ।’
आठबिस नगरपालिकाका प्रमुख तर्क बडुवाल क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको बताउँछन् । ‘विवरण सङ्कलन गरेरमात्र के गर्नु, राहत दिन सकिने अवस्था छैन,’ उनले भने, ‘सहयोग गर्ने ठाउँ कतैबाट हुँदैन, नोक्सान यति भयो भन्ने मात्र हुन्छ । हामीले दिन सक्ने राहत हात्तीको मुखमा जिरा भनेजस्तै हुन्छ ।’
उनले प्रदेश र संघ सरकारले कृषकलाई राहत उपलब्ध गराउनुपर्ने बताए । प्रदेश सरकारका कानुन मन्त्री कृष्णबहादुर जिसी पीडित कृषकलाई सरकारले राहतको व्यवस्था गर्ने बताउँछन् । प्रदेश सरकारले बनाएको कार्यविधि अनुसार २० प्रतिशत क्षतिपूर्ति उपलब्ध गराइने उनको भनाइ छ ।
राहतका लागि प्रदेश सरकारले ६ करोड विनियोजन गरेको छ । अपुग भए थप बजेटको व्यवस्था गरेर भए पनि कृषकलाई राहत दिने उनको भनाइ छ । सोमबार साँझको हावाहुरीसहितको पानीले सुर्खेत लगायतका अन्य जिल्लाको धानबालीमा समेत क्षति पुगेको छ ।