धनकुटा । केही समय अघिसम्म ज्यालादारी मजदुरी गर्ने धनकुटा नगरपालिका वडा नम्बर २ गुराँसेका ५५ बर्र्षीय गोबिन्द सारु मगरको जीवन वदलिएको छ । ब्यवसायिक तरकारी खेती सुरु गरेपछि उहाँको जीवननै फेरीएको छ ।
केही समयअघिसम्म उत्पादन गरेको आलु बेसी झरेर धान साटेर छाक टार्ने गर्दथे तर अव बेसी झर्नु नपर्ने तर उल्टै तरकारी तथा आलुको बिउ खोज्दै बेसीबाट आउने गरेको मगर बताउनुहुन्छ । यतिवेला उहाँ र उहाँको आफन्तको बारीमा १२ महिनानै तरकारी खेतीले ढाकिने गरेका छन् । यो क्षेत्रमा तरकारीको ब्यबसायिक उत्पादन सुरु भए सँगै आयस्रोत बढेको छ ।
डेढ दशक यता धनकुटाका उच्च क्षेत्रका करीब १५ हजार किसानले बेमौसमी तरकारी खेतीलाई आम्दानीको मुख्यमाध्यम बनाएका छन् । यहाँ एक रोपनी बराबर बार्षिक दुई लाख सम्म आम्दानी गदै आएका छन् । यहाँको बारीमा एक बर्षमा तीन पटक बालि उत्पादन हुने गरेको उहाँ बताउनुभयो ।
बन्दाकोपी, मटरकोसा, फुलकोपी, आलु, मुला यस क्षेत्रमा उत्पादन हुने मुख्य तरकारीबालि हुन् । त्यसो त यहाँको तरकारी खेतीको इतिहास त्यति पुरानो भने हैन । २०६० साल बाट यस क्षेत्रमा ब्यबसायीक तरकारी खेती सुरु भएको स्थानीय इन्द्र सारु मगर बताउनु हुन्छ ।
२०५९ साल देखि यहाँ उत्पादित तरकारी भारत निकासी हुनथालेपछि यहाँका किसानहरु तरकारीको ब्यबसायिक उत्पादनमा लागेका हुन् । ब्यबसायिक तरकारी उत्पादनसँगै अहिले एकाएक किसानहरुको परिचयनै फेरीएको छ । अहिले यो क्षेत्र धनकुटाको मात्र नभइ पुर्बकै सबै भन्दा बढि तरकारी उत्पादन हुने क्षेत्रको रुपमा चिनिने गरेको छ ।
उत्पादित तरकारी तराइका झापा, मोरङ्ग, सुनसरी सहित भारतका सिमाबर्ती बजारसम्म पुग्ने गरेको छ । बार्षिक दुई लाख बढी एक परिवारले आम्दानी गर्ने गरेको उहाँहरु बताउनुहुन्छ । विदेशिएका युवाहरु समेत फर्किएर कृषि पेसा अंगालेका छन् ।