21.3 C
Kathmandu
Wednesday, August 13, 2025
spot_img

केरा खेतीले फेरियो म्याग्दीका किसानको दैनिकि

म्याग्दी । केरा खेती गरेर लाखौं आम्दानी गर्न सकिन्छ भन्ने शोभित सापकोटाले सपनामा पनि सोचेका थिएनन् । आफैँले खानका लागि दुईरचार घरी केरा लगाउने गरेका म्याग्दीको बेनी नगरपालिका–२ खबराका सापकोटालाई व्यावसायिक रुपमा केरा खेती गरेर अहिले आफैँले मनग्ये आम्दानी गर्न सकेको देख्दा आश्चर्य लाग्दछ ।

१० वर्षदेखि व्यावसायिक रुपमा केरा खेती गरेर उनले गाउँमा नै पक्की घरसमेत बनाएका छन् । करिब १६ रोपनी जमिनमा लगाएको केराबाट वार्षिक रुपमा १० लाख रुपियाँभन्दा बढी आम्दानी हुने गरेको उनी बताउँछन् । उनको देखासिकीपछि परम्परागत खाद्यबालीको विकल्पमा यस गाउँका धेरै किसान खेतबारीमा व्यावसायिक केरा खेती गर्न आकर्षित भएका छन् ।

थोरै लगानीमा छिटो आम्दानी गर्न सकिने, बजार नजिक र अन्य बालीको तुलनामा सजिलो भएकाले अन्य किसानहरु पनि व्यावसायिक केरा खेती गर्नेतर्फ उत्साहित भएका हुन् । बिरुवा रोपेको दुई वर्षमा पसाउन थाल्ने र पसाएको पाँच महिनामा बिक्रीका लागि तयार हुन्छ । उत्पादन भएको केरा नजिकै रहेको बेनी बजारमा सहजै बिक्री हुने हुँदा बजारको समस्या नभएको सापकोटा बताउँछन् । बजारमा खबराको केराको ‘ब्रान्ड’ नै बनेको उहाँको भनाइ छ ।

कृषि पेसामा नै लागेर निर्वाहमुखी ढङ्गले गुजारा चलाउँदै यहाँका बासिन्दाको अहिले आर्थिक अवस्थामा निकै सुधार आएको छ । खबराका १६० घरधुरी किसानले केरा खेतीबाट वार्षिक रुपमा एक करोड रुपियाँ गाउँमा भित्र्याउने गरेका छन् ।खबरामा केरी खेतीको सुरुआत २० वर्षअघि मानबहादुर थापा र चन्द्रबहादुर कार्कीले गरेको स्थानीय बासिन्दाले बताएका छन् । थापा र कार्कीले सुरु गरेको केरा खेतीले अहिले गाउँ नै ढाकेको छ । थापा र कार्कीको सिको गरेर खबराका स्थानीयले व्यावसायिक रुपमा केरा खेती थालेका हुन् ।

अन्य खेतीभन्दा केरा खेतीबाट राम्रो आम्दानी हुने भएपछि यहाँका किसानहरु केरा खेतीतर्फ आकर्षित भएका हुन् । खबराका प्रत्येक घरधुरीले व्यावसायिक रुपमा हजारी जातको केराको खेती गरेका छन् । खबराका किसानले केरा खेतीबाट राम्रो आम्दानी गर्न सकेको देखेपछि छिमेकी बगरफाँटका किसानले पनि व्यावसायिक केरा खेती गर्न थालेका छन् । बगरफाँटका १८ घरधुरीका किसानले व्यावसायिक रुपमा गरेको केरा खेतीबाट वार्षिक ५० लाख रुपैयाँको हाराहारीमा केरा बिक्री गर्ने गरेका छन् । व्यापारीहरु केरा घरीमा नै आएर केरा खरिद गर्ने गरेका बगरफाँटका कृषक खिमबहादुर कार्कीले बताए ।

धान, कोदो, मकै, गहुँभन्दा केरा खेतीबाट राम्रो आम्दानी गर्न सकिन्छ बबिता सापकोटाले भनिन्, ‘पाँच रोपनी जमिनमा केराखेती गरेका छौँ वार्षिक रुपमा चारदेखि पाँच लाख रुपियाँसम्म आम्दानी हुन्छ ‘ छोराछोरी पढाउन र घरखर्च चलाउन कुनै समस्या छैन उनले भनिन्, ‘केरा बिक्री गरेर आएको पैसाले छोराछोरीलाई काठमाडौँमा पढाउन पुगेको छ,’ उत्पादन भएको केरा घरबाटै बिक्री हुन्छ सापकोटाले भनिन्, ‘केरा लिन बेनीदेखि व्यवसायीहरु घरमै आउँछन्, राम्रो कोसाको प्रतिदर्जन १२० रुपियाँमा बिक्री हुन्छ ।’

त्यस्तै खबराकै हरि कुँवरले पनि १० रोपनी जमिनमा केरा खेती गरेका छन् । केरा बिक्री गरेर वार्षिक रुपमा ६ लाख रुपैयाँ जति आम्दानी हुने गरेको उनले सुनाए । राम्रो भयो भने केराको एक घरीमा ७०० देखि ८०० सम्म कोसा हुन्छन्,’ उनले भने, ‘एक घरीको चार हजार २०० रुपियाँसम्म बिक्री गरेको छु ।’

केरा खेतीबाट राम्रो आम्दानी हुन थालेपछि अहिले गाउँ नै केरा खेतीले ढाकेको छ । खेतबारी, पाखा, कान्ला र खोल्साहरु सबैतिर केरा खेतीले छपक्कै ढाकेको म्याग्दीका अगुवा कृषक चन्द्रबहादुर कार्कीले बताए । त्यसैगरी बेनी नगरपालिका(२ बगरफाँट गाउँका किसानले धान फल्ने खेतमा केरा खेती गरेका छन् । धान, गहुँ, मकै बालीको विकल्पमा यहाँका कृषकले खेतका गह्रामा व्यावसायिक रुपमा केरा खेती गरेर आयआर्जन गर्ने माध्यम बनाएका हुन् । अन्नबाली जस्तै धेरै मिहेनत र श्रम खर्च गर्नु नपर्ने र आम्दानी पनि बढी हुने भएकाले धान फल्ने खेतमा केरा खेती गरिएको कृषकहरुले बताएका छन् ।

केही वर्षअघिसम्म परम्परागत खाद्यान्न खेती हुने बगरफाँट अहिले केराको बगैँचामा परिणत भएको छ । अनुकूल हावापानी, वातावरण, बजारको सुविधा र छिटो आम्दानी गर्न सकिने भएकाले व्यावसायिक केरा खेतीतर्फ आकर्षण बढेको कृषक खिमबहादुरले बताए । कार्कीले खेतका गह्रामा केराका ५०० बिरुवा लगाएका छन् । उनका अनुसार तीमध्ये अहिले नै ३०० बोटमा घरी लागेको छ ।

त्यसैगरी अर्का कृषक दुर्गाबहादुर थापाले पनि गुडुराको धान फल्ने चार रोपनी खेतमा केराका बिरुवा लगाएका छन् । खेती गर्न झन्झटिलो हुने, कम उत्पादन हुने, खर्च बढी हुने र काम गर्ने मान्छे पनि नपाइने हुँदा धान फल्ने खेतमा अहिले केरा लगाएको थापाले बताए ।

मजदूर अभावमा खाद्यबाली हुने जमीन बाझिन थालेको अवस्थामा केरा खेती प्रभावकारी विकल्प बनेको स्थानीयवासी भीमबहादुर कार्कीले बताए । एक वर्षअघि गत वर्षको जेठमा यहाँका कृषकले करिब दुई हजार केराका बिरुवा लगाएका छन् । पकाएको केराप्रति १२ कोसा रु १०० का दरले बिक्री हुने गरेको छ । एउटै घारीबाट एक हजार कोसासम्म उत्पादन लिन सकिने कृषकले बताएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स