काठमाडौँ । आज १५ असार, १९ औँ राष्ट्रिय धान दिवस । हरेक वर्ष यस दिन सरकारले धान दिवस मनाउँछ भने आम नागरिकले दही, चिउरा खाँदै हर्षोल्लासका साथ रोपाइँ गर्छन् । कृषि मन्त्रालयले पनि यस दिन उपत्यका नजिकैको कुनै खेतमा गएर रोपाइँ उत्सव मनाउँछ । त्यसमा कृषिमन्त्री सहितको सहभागिता रहन्छ । यस्तो औपचारिकता निर्वाह गर्ने क्रममा केही वर्ष पहिले कृषिमन्त्रीले गमलामा धान रोपेर धान दिवस मनाएकोमा व्यापक विरोध भएको थियो । उता धान दिवसकै अवसरमा बढी हर्षित भएर महिलाहरूसँग रमाउँदा अर्का कृषि मन्त्रीले राजीनामा समेत दिनुपरेको थियो । जे होस्, सरकार औपचारिक रूपमा धान दिवस मनाउँछ भने वास्तविक किसानले रोपाइँबाट सुस्ताएर दही, चिउरा खाँदै हर्षका साथ असार १५ वा धान दिवस मनाउँछन् ।
२०६१ सालमा ‘धान खाद्य सुरक्षाको लागि वरदान’ भन्ने नारासहित यो दिवस मनाउन थालिएको भए पनि धान रोप्ने प्रचलन कृषि युगको थालनी सँगसँगै भएको हुनुपर्छ । असार महिना किसानहरूको ‘मानो खाएर मुरी उब्जाउने समय’ हो । त्यसका लागि उनीहरू रातदिन खटेर रोपाइँ गर्छन् । रोपाइँमा सबै जना खेतमै व्यस्त हुने हुँदा त्यहाँ एक किसिमको रमाइलो हुन्छ । त्यस क्रममा एकापसमा पानी छ्याप्ने, हिलो छ्याप्ने, गराहरूमा बीउ फ्याँक्दा बाउसे, रोपाहारहरूलाई भिजाउने सम्मका काम गर्छन् । साथै धेरै ठाउँमा विभिन्न किसिमका रमाइला असारे भाका गुन्जाउँछन् ।
नेपालमा धान रोप्दा गाइने असारे गीत रोपाइँमा दिनभर थाकेको बाउसे र रोपाराहरू एकअर्कामा हिलो छ्यापछ्याप गरी गीत गाउँदै दुःख कष्ट र थकाइ बिर्सने गर्दथे । खेतका गह्रा, खोलानाला र खहरेबाट झरेको पानीको छङ्छङ आवाजसँगै असारे भाका गाउँदा सुन्नेहरू पनि लठ्ठ पर्ने गर्दथे । तर ती दिनहरू अब इतिहास नै बनेका छन ।
पहिला असारे गीत असार सुरु हुनेबित्तिकै सुनिथ्यो तर अहिले मध्य असार भइसक्दा पनि असारे गीत नसुनिएको लोक गायकगायिका बताउछन । मानो खाएर मुरी उब्जाउने असार महिनामा पहिलेजस्तो उल्लास आजकल पाइन छाडेको छ । आजकल मेला हिँड्ने परम्परा कम भएको र असारे गीत गाउने छाडेकाले भाकासमेत लोप भएको बूढापाका बताउँछन् ।
नेपाली लोकगीतमा विभिन्न चाडपर्व, ऋतु, खेतीपाती गर्दा गाइने सांस्कृतिक भाका र भाव मिसिएका पाइन्छन् तर यस्ता गीतको संरक्षण र संवद्र्धन भने हुन सकेको छैन । संस्कृतिमूलक गीत लोप हुँदैछन् । यस्ता गीतलाई संरक्षण गर्न अतिआवश्यक रहेको बूढापाकाको भनाइ छ । आजकल रोपाइँको मौलिकता हराउँदै गएकामा पाका नागरिक चिन्तित छन् । कृषिमा यान्त्रिकीकरण र प्रविधिको प्रयोग बढ्दै गएपछि रौथाने प्रविधि लोप हुँदै गएका छन् । हलो–जुवा र गोरुको ठाउँ मिनीट्रिलर हलोले लिएको छ भने असारे गीत पनि सुनिन छाडेको छ ।
अहिलेका युवापुस्ता प्रविधितर्फ आकर्षित भएकाले परम्परागत सीप, साधन, कला र संस्कृति हराउँदै जान थालेकामा स्थानीय बूढापाकाले चिन्ता व्यक्त गरेका छन् । कृषिसँग नेपालीको जीवन पद्धति पनि जोडिएको छ । ऐँचोपैँचो, सर–सापट, अर्म–पर्म, हुद्धा–डफ्फा, श्रमदान, सघाइ यी चलन नेपालीका मौलिक चलन हुन् र यी कृषिसँग नै सम्बन्धित चलन भएका बूढापाका बताउँछन् । यिनै प्रचलनको जगमा नै नेपाली समाजको एकता र विविधता दुवै समेटिएको छ ।
असारे भाकासँगै अर्मपर्म गरी रोपाइँ गर्ने चलन पनि गाउँघरमा विस्तारै हराउँदै छ । म्याग्दीमा असार दोस्रो सातासम्म जम्मा २० प्रतिशत मात्र रोपाइँ भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।