सिमकोट । हिमाली जिल्ला हुम्लामा किसानको पहिचान गर्न अनलाइनमा सूचीकृत सुरु भएको छ। वास्तविक किसान पहिचान गरी कृषि तथा पशुपक्षी लक्षित कार्यक्रम सञ्चालन गर्न जिल्लामा सूचीकृत कार्य सुरु गरिएको हो।
सिमकोट गाउँपालिका कृषि शाखाका संयोजक नेत्रबहादुर शाहीले कृषकलाई किसान सूचीकरण व्यवस्थापन प्रर्णालीमा आबद्ध गर्ने कार्यको थालनी भएको बताए।
गाउँपालिकाका कृषि शाखा र कृषि विकास कार्यालयसँग वास्तविक किसानसम्बन्धी कुनै विवरण नभएका बेला यो प्रर्णाली लागू गरिएको हो। उनले किसानको सूचीकृत सुरु गरिए भए पनि सूचीकृत कार्य सम्पन्न भएपछि वास्तविक किसान पहिचान गरी वर्गीकरण गरिने बताए। यस वर्ष सूचीकृतको कार्यक्रम रहेको र ०७९।८० बाट कार्यक्रम तर्जुमा गर्दा यही आधारमा हुने उनले जानकारी दिए।
यसबाट किसानको जग्गा कति छ भन्ने पत्ता लगाउन सजिलो हुनेछ। पहिलो पटक सिमकोट गाउँपालिकामा किसान सूचीकृत कार्य सुरु गरे पनि अब जिल्लाका अन्य नाम्खा, खार्पुनाथ, सर्केगार्ड, चंखेली, अदानचुली र ताँजाकोट गाउँपालिकाले यसै वर्षभित्र उक्त कार्य गर्ने जनाएका छन्।
गाउँपालिकाले किसान सूचीकृत गर्ने कार्य सम्पन्न गरे कृषि विकास कार्यालयलाई समेत कृषि क्षेत्रमा काम गर्न सहज हुने विश्वास गरिएको छ।