25.4 C
Kathmandu
Friday, August 15, 2025
spot_img

फैलिँदै कोरोना संक्रमण: नाकाबाट भित्रिनेको व्यवस्थापन गर्न सकस

कैलाली । पछिल्ला दिनमा कोरोना सङ्क्रमण दर बढेसँगै सुदूरपश्चिम प्रदेशमा सीमा नाकाबाट भित्रिने नागरिकको सहज व्यवस्थापन गर्न चुनौती देखिएको छ । भित्रिने कतिपय व्यक्तिबाट अटेरी स्वभाव देखाउँदै धम्क्याउनेसम्मका व्यवहार भइरहँदा सहजरूपमा व्यवस्थापन गर्ने काममा चुनौती देखिएको सीमामा खटिएका प्रहरी कर्मचारीले बताएका छन् ।

गौरीफन्टा सीमा नाका नजिकको डोकेबजारमा खटिनुभएका प्रहरी नायब निरीक्षक दीपेन्द्र थापाले भित्रिने कतिपय व्यक्तिबाट जोरजबर्जस्ती गर्ने र धम्क्याउने व्यवहार भइरहँदा आफूहरुले हैरानी खेप्नुपरेको बताउनुभयो । “नाकामै गरिएको नमूना परीक्षणमा कोरोना पोजिटिभ देखिएपछि महाराष्ट्रबाट आएका एक नेपालीलाई सम्झाइबुझाई आइसोलेसनमा पठाउने प्रयास गर्यौं,” उहाँले भन्नुभयो, “तर निजले आफू कुनै हालतमा आइसोलेसनमा बस्न नजाने, बरु आफूमाथि गोली ठोक्न चुनौती दिँदै धम्क्याए ।”

खुला सीमाका साथै भित्रिने नागरिकबाट भइरहेको व्यवहारबाट कोरोना सङ्क्रमण रोकथाम निकै चुनौतीपूर्ण बनेकाले यो रोगको रोकथामका लागि नाका नै बन्द गर्न आवश्यक देखिएको सीमामा खटिएका प्रहरी कर्मचारीको सुझाव छ । भित्रिने नागरिकलाई धनगढीको कनरीमा स्थापना गरिएको आइसोलेसनमा पठाउने गरिएकामा पछिल्ला दिनमा भित्रिने कतिपयलाई होम आइसोलेसनमा समेत पठाउने थालिएको छ । भित्रिने धरै नागरिकलाई सम्बन्धितका अभिभावकको जिम्मा लगाएर सुरक्षितरूपमा होम आइसोलेसनमा पठाउने गरिएको छ ।

कोरोनाको जोखिम बढे पनि सीमापारि भारतको गौरीफन्टा नजिकको वनगाउँ, पलियालगायतका बजारमा किनमेल गर्न जानेहरु घटेका छैनन् । उनीहरुको नमूना परीक्षणसमेत हुने गरेको छैन । जसका कारण यो रोगको सङ्क्रमण रोकथाममा थप चुनौती देखिएको छ । पछिल्ला दिनमा कोरोना सङ्क्रमणको बढी समस्या देखिएको भारतबाट सीमा नाका हुँदै भित्रिनेको सङ्ख्या बढ्दै जाँदा उनीहरुको सहज व्यवस्थापन गर्न चुनौती देखिएको हो । भित्रिने सबै नागरिकको एन्टिजेन परीक्षण गर्नमा सचेतता अपनाइएको भए पनि कतिपय व्यक्ति नमूना परीक्षण नगरी कर्मचारी र प्रहरीलाई छलेर भित्रिने गरेका पनि छन् ।

त्रिनगर सीमा नाका हेल्थ डेस्कका प्रमुख अहेब गणेश साउदले भन्नुभयो, “नाका हुँदै भित्रिने कतिपय नागरिकबाट नमूना परीक्षण गराउन बेवास्ता भइरहँदा जोखिम रोकथाम गर्न निकै कठिन भएको छ ।” यो नाकामा सञ्चालित हेल्थ डेस्कमार्फत भइरहेको नमूना परीक्षणमा दैनिक दश प्रतिशतका दरले कोरोना पोजिटिभ बिरामी थपिँदै जाँदा सङ्क्रमण दर पनि उकालो लागेको छ । साउदले भन्नुभयो, “यो नाकामा केही दिनयता नमूना परीक्षण भइरहेकामध्ये दैनिक दश प्रतिशतका दरले सङ्क्रमित थपिने गरेका छन् ।”

लुकीछिपी भित्रिनेबाट यो रोगको जोखिम थप बढ्ने देखिएको छ । यो नाकाबाट भित्रिएका १२ व्यक्तिमा ‘ओमिक्रोन’ कोरोना भाइरसको सङ्क्रमणको आशङ्कामा थप परीक्षणका लागि सङ्कलित नमूना काठमाडौँ पठाइएको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ तीव्ररुपमा फैलिएको भारतबाट सुदूरपश्चिम प्रदेशको त्रिनगर सीमा नाका (गौरीफन्टा), गड्डाचौकी, बैतडी र दार्चुला जिल्लाका सीमा नाका हुँदै फर्किने व्यक्तिको सङ्ख्या बढ्दै गएको छ ।

सदियौँदेखि सुदूरपश्चिम प्रदेशका नागरिकको मुख्य रोजगारी गर्न जाने देश भारत हो । खुला सीमा भएकै कारण अन्य विभिन्न नाकाबाट भइरहेको मानिसको आवागमनको निगरानी राखेर उनीहरुको नमूना परीक्षण गर्ने कामसमेत चुनौती देखिएको जनाइएको छ । जोखिम बढे पनि रोकथामका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने गराउने, भीडभाड नगरी सामाजिक दूरी कायम राख्ने काममा नागरिकबाट लापर्बाही भइरहेको छ । हालसम्म सुदूरपश्चिम प्रदेशमा ५० प्रतिशतभन्दा बढी नागरिकले खोप पाइसकेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स