काठमाडौं । उपत्यकाका सार्वजनिक ठाउँमा भेला हुन रोक लागेको छ । मंगलबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले सार्वजनिक ठाउँमा २५ जना बढी भेला हुन नदिने निर्णय गरेको हो ।
काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीका अनुसार मध्यराति १२ बजेदेखि यो निर्णय कार्यान्वयन हुनेछ । सँगै बैठकले मेला, महोत्सव र राजनीतिक कार्यक्रम नगर्न अनुरोध गरेको छ ।
यस्तै काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारी साधन चढ्ने यात्रुलाई मास्क अनिवार्य गरिएको छ । आज बसेको उपत्यकाका तीन जिल्लाका सीडीओहरूको बैठकले सबै यात्रुहरूले अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने निर्णय गरेको हो ।
‘‘स्वीकृति सिट क्षमताभन्दा बढी यात्रु नचढाउने, सबै यात्रुहरूले अनिवार्य मास्कको प्रयोग गर्ने, सवारी साधनको ढोकामा स्यानिटाइजर राख्नुपर्ने, मास्क नलगाउने यात्रुलाई सवारीमा प्रवेश नगराउने, चालक सहचालकले अनिवार्य मास्क, भाइजर पञ्जा लगाउनुपर्ने, र सवारी साधन दैनिक स्यानिटाइज गुर्नपर्नेछ,” प्रशासनद्वारा जारी आदेशमा भनिएको छ ।