23.6 C
Kathmandu
Wednesday, August 13, 2025
spot_img

भेरी अस्पतालको क्वाटरमा निसास्सिएर एकै परिवारका चार जनाको मृत्यु

नेपालगञ्ज। भेरी अस्पतालको क्वाटरमा बस्दै आएका एकै परिवारका चार जना सुतेकै अवस्थामा विहिबार विहान मृत भेटिएका छन् भने तीन जना बेहोस अवस्थामा फेला परेका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले दिनु भएको जानकारी अनुसार उनिहरुले आगो बालेर झ्याल ढोका बन्द गरि सुतेको देखिएकोले निसासिएर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।

उहाँले भेरी अस्पताल परिसरभित्र रहेको कर्णाली प्रदेशको क्षेत्रीय मेडिकल स्टोरमा कार्यरत कार्यालय सहयोगी खाँडाचक्र नगरपालिका ६ कालीकोटका २३ बर्षीय धनप्रसाद भट्टराई, उहाँको ३ महिनाको छोरा इप्सन भट्टराई, सासु अन्दाजी ५५ बर्षीया कोपिला र धनप्रसादकी बहिनी अन्दाजी २२ बर्षीया कोली भट्टराईको मृत्यु भएको पाईएको बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी श्यामकृष्ण अधिकारीसंगै घटनास्थलमा रहनु भएका प्रजिअ खत्रीले घट्नाका बारेमा अनुसन्धान भैरहेको जनाउँदै मृत्युको कारण पोष्टमार्टमको रिपोर्टपछि मात्रै आउने बताउनुभयो । एउटै कोठामा बसेका उनीहरुले राती आगो बालेर कोठाका सबै झ्याल ढोका बन्द गरेर सुतेको देखिएकोले निसासिएर मृत्यु भएको बढी आशंका गरिएको बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बताउनुभयो ।

प्रहरीलाई प्राप्त भएको जानकारी अनुसार स्टोरको कर्मचारीले आवश्यक काम परेपछि राती १ बजेतिर पटक पटक सम्पर्क गर्दा भट्टराई सम्पर्कमा आएका थिएनन् । विहान ६ बजेतिर कोठामा गएर हेर्दा उनीसहित चार जना मृत अवस्थामा भेटिएको एसपी अधिरकारीले बताउनुभयो । संगै कोठामा बसेका अन्य तीन जना अचेत अवस्थामा थिए । उनीहरुको भेरी अस्पतालमै उपचार भइरहेको छ ।

भट्टराईकी श्रीमती, ३ बर्षीय छोरा र बहिनीको उपचार भइरहेको प्रहरी प्रमुख एसपी अधिकारीले बताउनुभयो । घटनाका सम्वन्धमा जिल्ला प्रहरी कार्यालय बांँकेको प्राबिधिक तथा प्रशासनिक टिमले घटनास्थललाई नियन्त्रणमा लिएर कुकुर सहित परिचालन गरेर अनुसन्धान अगाडी बढाएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स