23.3 C
Kathmandu
Tuesday, August 12, 2025
spot_img

सर्लाहीमा आगोले जलेर दुई बालिकासहित तीन जनाको मृत्यु

सर्लाही । सर्लाहीको बेग्लाबेग्लै स्थानमा भएको आगलागीमा परेर एकै घरका दुई बालिकासहित तीन जनाको मृत्यु भएको छ । जिल्लाको कविलासी नगरपालिकामा आगलागीमा परी एकै परिवारका दिदी–बहिनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार राती विद्युत् सर्ट भएर घरमा आगलागी हुँदा कविलासी नगरपालिका–७, सिर्सिया बस्ने जोगी महरा चमारकी छोरीहरु ८ वर्षीया लक्ष्मी कुमारी र ३ वर्षीया सोगन्धी कुमारीको मृत्यु भएको हो ।

आगलागीबाट जलेर गम्भीर घाईते भएका उनीहरुलाई जिल्ला अस्पताल मलङ्गवामा सामान्य उपचार गरी थप उपचारका लागि काठमाण्डौंतर्फ लैजाँदै गर्दा बिहीबार बिहान ३ बजेतिर बाटोमा नै मृत्यु भएको सर्लाहीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिनुभयो । आगलागीमा परेर चमारकी अर्की छोरी ५ वर्षीया सुधा कुमारी पनि घाईते छिन् ।

सामान्य घाईते सुधा भने स्थानीय मेडिकलमा उपचारपछि डिस्चार्ज भइसकेकी छिन् । प्रहरीका अनुसार बुधबार राती ९:१५ बजेतिर अतिविपन्न चमार परिवारको घरमा आगलागी भएको हो । आगलागी गाउँले र प्रहरी मिलेर आधा घण्टापछि नियन्त्रणमा लिएका थिए । आगलागीबाट चमारको फुसले छाएको कच्ची घर पूर्णरुपमा नष्ट भएको छ । आगलागीबाट दुई सन्तान गुमाएको चमार परिवार घर समेत जलेर खरानी भएपछि बिचल्लीमा परेको छ । पीडितको खुला आकाशमुनी बास भएको छ ।

यस्तै, मलङ्गवा नगरपालिका–६, खुटौनामा परालको घुर बालेर ताप्नेक्रममा आगोले जलेर एक वृद्धाको मृत्यु भएको छ । बुधबार राती ११:३० बजेतिर बाटो छेउमा पराल बालेर आगो ताप्ने क्रममा कपडामा आगो सल्किएर गम्भीर घाईते हुनुभएकी ७० वर्षीया नसिर खाँ को उपचारका क्रममा जिल्ला अस्पताल मलङ्गवामा मृत्यु भएको हो । खाँ को बिहीबार बिहान ७:१५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक वृद्धाको शव जिल्ला अस्पतालमै छ ।

सर्लाहीमा केही दिनदेखि लगातारजसो आगलागीका घटना भइरहेका छन् । एक साताको अवधिमा जिल्लाका आधादर्जन भन्दा बढी स्थानमा विद्युत् सर्ट भइ र घुर बाल्नेक्रममा आगलागी भएका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स