काठमाडौं । दुई गाउँपालिका अध्यक्ष तथा १ नगरपालिका प्रमुखसहित ३९ पद विभिन्न कारणले गर्दा रिक्त रहँदै आएको छ । रिक्त पदमा उपनिर्वाचन गर्ने सम्बन्धमा आयोगले पटक पटक सरकारसँग छलफल गर्दै आएको थियो ।
निर्वाचन आयोागको प्रस्तावअनुसार नै सरकारले आगामी मंसिर १६ गते रिक्त पदमा उपनिर्वाचन गर्ने निर्णय गरेको छ ।
निर्वाचन आयोगले साउन २९ गते प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न कारणले रिक्त रहेको स्थानीय तहमा मतदाता नामावलीमा नाम दर्ता तथा अध्यवधिक गर्न आह्वान गरेको थियो ।
नगरपालिका प्रमुख–उपप्रमुख, गाउँपालिका अध्यक्ष उपाध्यक्ष तथा वडाध्यक्ष गरी रिक्त रहेको ३४ पदमा उपनिर्वाचनको तयारी भइरहेको भन्दै आयोगले विज्ञप्ति मार्फत जनाएको थियो । त्यसयता पछिल्लो एक महिनाको अवधिमा थप अन्य ५ पद पनि रिक्त छ । रिक्त रहेको पदमा उपनिर्वाचन मार्फत पदपूर्तिका लागि आयोगले आन्तरिक तयारी गरिरहेको छ ।
मतदाता नामावली ऐन २०७३ को दफा ४ ९२० अनुसार, ‘निर्वाचनको मिति तोएिपछि सोही मितिदेखि उक्त निर्वाचन प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य स्थगित गर्नुपर्ने’ कानूनी ब्यवस्था छ ।
निर्वाचनको आन्तरिक तयारी गरिरहेको आयोगले निर्वाचनको मिति तोक्न सरकारलाई यसअघि पनि आग्रह गरेको थियो ।
आइतबार मात्रै प्रमुृख निर्वाचन आयुक्तसहित आयोग पदाधिकारीहरुले प्रधानमन्त्रीलाई भेट गरी आगामी मंसिर १६ गते निर्वाचन गर्न प्रस्ताव गरेपछि सरकारले सोही मितिमा उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।
निर्वाचन आयोगका अनुसार स्थानीय तहमा जिल्ला समन्वय समितिका २ प्रमुखसहित ३९ पद रिक्त छ । ओखलढुंगा र कैलालीका जिल्ला समन्वय समिति प्रमुखको पद रिक्त छ ।
यस्तै, स्थानीय तहका विभिन्न ३० वटा वडाका वडाअध्यक्ष पद पनि रिक्त रहेको छ । नेपालको संविधान तथा निर्वाचन ऐन २०७३ मा जिल्ला समन्वय समिति प्रमुख, उपप्रमुख तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्षको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा र एक वर्ष भन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा उपनिर्वाचन गरी पदपूर्ति गर्ने ब्यवस्था छ ।
उक्त निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगबाट अन्तिम नामावली स्वीकृत गरी प्रकाशन गरेको समयसम्म स्थानीय तहका तत्तत् पदमा कुनै कारणले रिक्त भएमा आगामी मंसिर १६ गते नै उपनिर्वाचन गर्न सकिने पनि निर्वाचन आयोगले जनाएको छ ।