30.4 C
Kathmandu
Tuesday, August 12, 2025
spot_img

आर्थिक मसान्त सकिने बित्तिकै कार्यक्षेत्र छोड्ने पालिका प्रमुखहरुको प्रचलन, गृहको निर्देशन समेत टेरेनन्

कालीकोट। कालिकोटका अधिकांश स्थानीय तहका प्रमुख र जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख घर बसेका छन् । आर्थिक मसान्त सके लगतै सहर पस्ने बानी परेका स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र सङ्घ तथा प्रदेश मातहतका जिल्लास्थित कार्यालय प्रमुखहरूले यस वर्ष पनि कार्यक्षेत्र छोडेका छन् ।

नेपाल सरकारको गृह मन्त्रालयले गरेको निर्देशनविपरीत कार्यालय प्रमुखले कार्यक्षेत्र छोडेका छन् । गृह मन्त्रालयले एक महिना अगाडि परिपत्र गदै मनसुन अवधिभर प्रमुख प्रशासकीय अधिकृत र कार्यालय प्रमुखलाई कार्यक्षेत्र नछोड्न निर्देशन गरेको थियो । तर कालिकोटका अधिकांश कार्यालय प्रमुखले जिल्ला छाडेको लामो समय भइसकेको छ ।

अहिले पालाँता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेशकुमार श्रेष्ठ, पचालझरना गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर भण्डारी, नरहरीनाथ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेल, तिलागुफा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत देवकिरण बुढा, महावै गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत इन्जिनियर प्रकाशबहादुर शाहीले कार्यक्षेत्रमा छैनन् । उनीहरू कोही सुर्खेत त कोही काठमाडौँमा छन् । महावैका प्रमुख प्रशासकीय अधिकृत प्रकाशबहादुर शाहीले आफूलाई गृहको परिपत्र वारे जानकारी नभएको बताउनुभयो ।

यस्तै शुभकालीका गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत केन्द्रबहादुर शाही, रास्कोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत जवानसिंह बम, खाँडाचक्र नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रवलजङ शाही सुर्खेतमा रहनुभएको छ । उहाँहरूले जिल्ला छोडेको पनि दुई हप्ता बढी भइसकेको छ । कालिकोटका प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले गृह मन्त्रालयको परिपत्रमा मनसुन अवधिमा जिल्ला छोड्नुपरेमा प्रशासनलाई जानकारी गराएर जानुपर्ने र लामो समय कार्यक्षेत्र बाहिर बस्न नपाइने भन्ने थियो ।

तर आफूलाई रास्कोट नगरपालिका र खाँडाचक्र नगरपालिकाले मात्र जानकारी गराएर जिल्ला बाहिर गएको भए पनि अन्य पालिकाले बिना जानकारी जिल्लाबाहिर गएको आफूले सूचना पाएको बताउनुभयो । उहाँहरू पनि नेपाल सरकारका प्रतिनिधिहरू हुनुहुन्छ । उहाँहरूले पनि नागरिकको सेवामा लाग्नुपर्छ, तर कम्तीमा गृहको परिपत्रको ख्याल गर्नुपर्ने हो कि भनेर आफूले भने गरेको बताउनुभयो । आर्थिक मसान्त सकिने बित्तिकै कार्यक्षेत्र छोड्ने बानी पुरानै हो ।

कालिकोटका नौ स्थानीय तहमध्ये दुई स्थानीय तहमा मात्र दरबन्दी अनुसारका प्रमुख छन् । अरू सात स्थानीय तह लामो समयदेखि निमित्तले सञ्चालन गदै आएका छन् । यता जिल्ला सदरमुकाम मान्म केन्द्रित कार्यालयका प्रमुख पनि अधिकांश छैनन् । कोष तथा लेखा, जिल्ला निर्वाचन, हुलाक, मालपोत, शिक्षा विकास तथा समन्वय एकाए कार्यालय बाहेक अरू सबैले कार्यक्षेत्र छोडेको पाइएको छ ।

प्रतिक्रिया

हेडलाइन्स