काठमाडौं । प्रसिद्ध चार नारायणमध्ये एक महत्वपूर्ण नारायणका रुपमा रहेको मत्स्यनारायणको मेला आज देखी सुरु भएको छ । मलामसको समयमा अन्य धार्मिकस्थलमा पूजा गर्दा पूण्य मिल्दैन भनिए पनि काठमाण्डौको दक्षिण पश्चिमको मच्छेगाँउमा अवस्थित मत्स्यनारायण मन्दिरमा मलमासको समयमा एक महिनासम्म बिशेष मेला लाग्ने गर्दछ ।
प्रत्येक चार बर्षमा एक चोटी आउने अधिकमास अर्थात पुरुषोत्तम महिनामा लाग्ने यो मेलामा भगवान नारायणको दर्शन पूजापाठ गर्नाले सबै दुख कष्ट हरन हुने भएकोले मलमासको समयमा नारायणको भक्ति गर्नुपर्ने स्थानीयहरुको भनाई छ ।
मत्स्य पुराणमा उल्लेख भएअनुसार सत्ययुगका राजा सत्यब्रतले नदीमा सन्ध्या पाठ गर्ने क्रममा अन्जुलीमा सानो माछा आएर बसेको र सो माछालाई नदीमा बगाउन खोज्दा आफुलाई ठूलो माछाले खाईदिने भन्दै राजाकै शरणमा बस्ने इच्छा सुनाएपछि राजाले आफ्नो कमण्डलुमा माछा पालेको र पछि त्यो ठूलो भई कमण्डलुमा नअट्ने गरी शंख चक्र गद्या पद्यम सहितको आधा माछाको रुपमा बिष्णु भगवानले दर्शन दिएपछि मत्स्य नारायणको स्थापना गरि मलमासको समयमा पुजा गर्ने गरेको किम्वदन्ती रहेको छ ।
मलमासको बेलामा कुनै पनि शुभकार्य गर्न हुँदैन भन्ने मान्यता रहेका कारण यो महिनामा चोखो भई बस्ने र नारायण दर्शन एवम् पुजा गर्नुपर्ने परम्परा रहेको छ ।