काठमाडौं । भोलि शुक्रबार देशभरिका स्थानीय तहका जनप्रतिनिधि काठमाडौं आउने भएका छन् । संघीय सरकारले वित्तीय समानिकरण अनुदानको अन्तिम किस्ताको ५० प्रतिशत रकम कटौती गरेको विषयमा गाउँपालिका तथा नगरपालिका संघहरुले आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् ।
नेपाल नगरपालिका संघका अनुसार बिहीबार उपत्यकामा रहेका स्थानीय तहका जनप्रतिनिधिलाई काठमाडौंमै बस्न र शुक्रबार १० बजेसम्म देशभरिका स्थानीय तहका जनप्रतिनिधिलाई काठमाडौं आउन आह्वान गरेको हो ।
गाउँपालिका राष्ट्रिय महासंघकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले आजको मन्त्रिपरिषद् बैठकले ४० प्रतिशत वित्तीय समानीकरण अनुदान दिने निर्णय गरेको सुने पनि सार्वजनिक नभएकाले आन्दोलन गर्न लागिएको बताइन् । बिहीबार सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक गरेको मन्त्रिपरिषद्को निर्णयमा भने उक्त विषयले प्रवेश पाएको देखिँदैन । नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघले देशैभरिका स्थानीय तहलाई खबर गरेर काठमाडौं आउन भनिसकेको जनाएका छन् ।
अर्थ मन्त्रालयलाई बारम्बार चालु आर्थिक वर्ष २०७९र८० को वित्तीय समानीकरणको अन्तिम किस्ताको ५० प्रतिशत अनुदान कटौती नगर्न आग्रह गर्दा नमानेको भन्दै संघीयताको बचाउनको लागि भन्दै दबै पालिका संघहरुले आन्दोलनको तयारी गरेका हुन् । पालिका संघहरुले मन्त्रिपरिषदले तुरुन्तै निर्णय नगरे भोलि विहान पत्रकार सम्मेलन गरेर औपचारिक विरोधको कार्यक्रम सार्वजनिक गरेर घेराउ सुरु गर्ने तयारी गरेको नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधि देवकोटाले बताए ।
८ असारमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले वित्तीय समानीकरण अनुदान कटौती नगर्न अर्थ मन्त्रालयलाई पत्र लेखेको थियो । चालु आर्थिक वर्ष २०७९र८० को वित्तीय समानीकरणको अन्तिम किस्ताको ५० प्रतिशत अनुदान कटौतीपछि स्थानीय तहरु मारमा परेको भन्दै वित्त आयोगले अर्थ मन्त्रालयलाई परिपत्र गर्दै यस्तो आग्रह गरेको थियो । त्यसअघि गाउँपालिका राष्ट्रिय महासंघ नेपाल र नेपाल नगरपालिका संघले आयोगका अध्यक्ष बालानन्द पौडेलसँग भेटेर पहल गर्न ज्ञापनपत्र बुझाएका थिए ।